www.tandavnews.com
Fact ~ In search of truth

हवाई सेवामार्फत जोडिँदै पूर्वका धार्मिक तथा पर्यटकीय क्षेत्र

ताप्लेजुङ ।

पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु हवाई सेवामार्फत जोडिएका छन् ।

सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी, लुक्लालगायतका ठाउँमा हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका हुन् । सीता एयरले आइतबारदेखि दैनिक भद्रपुर–ताप्लेजुङ सिधा उडान शुरु गरेको छ ।

यस्तै लामीडाँडा, लुक्लामा समेत उडान भइरहेको माउण्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिलबहादुर वलीले जानकारी दिए । उनका अनुसार पाथीभरा र हलेसी दर्शनको प्याकेज नै बनाइएको छ ।

भद्रपुर र विराटनगरबाट २३ हजारमा पाथीभरा आवतजावत गर्न सकिन्छ । भद्रपुर र विराटनगर दुवै ठाउँबाट सीता एयरले सुकेटार विमानस्थलसम्म दैनिक उडान भर्नेछ भने सुकेटारबाट माउण्टेन एयरको हेलिकप्टरले दर्शनार्थीलाई मन्दिरसम्म लगेर पुनः सुकेटारमा ल्याउने छ । पाथीभराको दर्शनपछि सुकेटारबाट यात्रुले भद्रपुर, विराटनगर नभई लुक्लासमेत जान पाउनेछन् ।

हवाई सेवा शुरु भएपछि लुक्लाबाट समेत पाथीभरामा दर्शनार्थी आउन थालेका छन् । यस्तै हलेसी दर्शनको समेत रु २३ हजारको प्याकेज बनाएर उडान भर्न थालिएको बताइएको छ । यस्तै माउण्टेन हेलिकप्टरले धरानको भेँडेटारबाट समेत पाथीभरा उडान शुरु गरेको छ ।

भेँडेटारबाट पाथीभरासम्मको ओहोरदोहोर भाडा ३० हजार छ । हवाई सेवाले तीर्थयात्रीलाई मात्रै नभई अन्य यात्रुलाई समेत सहज बनाएको छ । सीता एयरको विमान बिहान भद्रपुरबाट सुकेटार र सुकेटारपछि लुक्ला हुँदै काठमाडौँ जानेछ । पुनः काठमाडौँबाट लुक्ला हुँदै सुकेटार आई भद्रपुर वा विराटनगर फर्कने बताइएको छ ।

प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको पूर्वमा पर्यटकको आकर्षण बढ्दै गएको र यहाँ रहेका दर्जनौँ विमानस्थलमा हवाई सेवा नभएकाले यस क्षेत्रमा हवाई सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । यसले पर्यटन वर्षलाई सफल बनाउनसमेत सहयोग पुग्ने हवाई सेवा कम्पनीहरुको विश्वास छ ।

यता सुकेटार विमानस्थलबाट नियमित उडान शुरु भए पनि स्थानीयवासीले तराईका भू–भागसहित काठमाडौँसम्मको यात्रामा सहज हुने विश्वास लिएका छन् । यस्तै पर्यटकको सङ्ख्यामा समेत वृद्धि भई पर्यटन प्रर्वद्धन हुनुका साथै जटिल प्रकृतिका बिरामीको उद्धारमा समेत सहयोग पुग्ने उनीहरुको भनाइ छ ।

पूर्वका सबै विमानस्थलमा हवाई सेवा नियमित बने भारतको सिक्किम, दार्जलिङलगायतका पर्यटकलाई समेत सहज हुने देखिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.