www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘पे–पार्किङ’:सर्वसाधरण, व्यवसायी र महानगरको आ-आफ्नै किचलो

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

सेतो नम्बर प्लेटको एफजेड मोटरसाईकलमा ट्राफिक प्रहरी देखिन्छन् । नजिकै निजी कारमा एक ठिटा आक्रामक मुद्रामा छन् । दुई विच भनाभन चलिरहेको छ । यो दृश्य पोखरा महानरपालिकाको कार्यालय अगाडी देखिएको हो ।

कास्की जिल्ला ट्राफिक कार्यालय मातहतका प्रहरी जवान गंगाधर काफ्ले जो ट्राफिक प्रहरीको पोशाकमा ठाटीएर चर्को चर्को स्वरमा नो पार्किङमा किन रोकेको भन्दै उफ्रिरहेका छन् । उनले ‘फि पे पार्किङ’ उ त्यहाँ छ भन्दै औला तेर्साइरहेका छन् । अनि ति ठिटा एकछिनको पार्किङमा के आपत्ति रु भन्दै रोष प्रकट गर्छन् । केही समयको भनाभन पछि दुई ट्राफिक प्रहरी थपिन्छन र ति युवा त्यहाँबाट लखेटिन्छन् ।

Batas

अलि तल महानगर कार्यालयकै साईडका व्यवसायीहरु आगो ताप्दै गफिरहेका छन्, ‘व्यापारमा प्रभाव पार्यो ।’ यस्तै यस्तै दृश्य न्यूरोडको पुरानो यातायात आदर्श चोक देखी माथि मोडल हस्पिटल सम्म देख्न सकिन्छ । सर्वसाधारण, यातायात व्यवसायीहरुको जमातको बिच बिचमा ट्राफिक प्रहरीहरुको उपस्थिति देख्न पाईन्छ ।

तुलनात्मक रुपमा अन्य दिनहरुमा भन्दा हिजो (मंगलबार) बाट बढिनै ट्राफिक प्रहरीहरु न्यूरोड सडकमा सिठ्ठी फुक्दै ओहोर दोहोर गरिरहेका छन् । कति ट्राफिक प्रहरी त पे पार्किङका स्वयंमसेवक झै गरी पे पार्किङ यता हो हजुर भन्दै देखाईरहेका छन् ।

उनीहरुलाई चटारो छ पे पार्किङसम्म डोर्याउन । कतिपय बुज्ररुक व्यक्तिहरु पहेलो रङले नै पार्किङको लागि निर्दिष्ट गरेको भन्दै सडक किनारमा रहेको पार्किङको बोर्डमा पोखरा महानगर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको नाम उल्लेख नगरिएकोले अनाधिकृत भएको भन्दै आपत्ति जनाईरहेका छन् ।

एक ट्याक्सी चालकले नाम नभन्ने सर्तमा ताण्डव न्यूजसँग भने, ‘विरोध हुन्छ भनेर रातारात उ त्यो पे पार्किङको बोर्ड र यो नो पार्किङको बोर्ड बेलुका राखेका हुन् । नत पोखरा महानगरपालिकाको नै न त कास्की ट्राफिक प्रहरी कार्यालयको साईन छ । हामी कसरी मान्न सक्छौ ।’

त्यस्तै सिसिटिभीको व्यवसाय गर्दै आएका रवत लामाले आर्थिक चलखेल भएको आरोप लगाए । उनले न्यूरोडमा पार्किङ गरेर ट्राफिक व्यवस्थापनमा समस्या नभएको दावी गर्दै व्यवसायीमाथि ठाडो प्रहार गरेको आरोप लगाए । आजसम्म यो क्षेत्रको पार्किङले जाममा कुनै असर गरेको छैन, उनले भने, ‘सबैलाई समान हुन पर्छ कि सबै ठाउँमा पार्किङ मनाही गर्नुपर्छ । कसैलाई काखा कसैलाई पाखा राम्रो हुन्न ।’ उनले व्यवसायीहरुको माग पुरा नभए पोखरा उद्योग वाणिज्य सँघ र महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रने समेत चेतावनी दिए ।

यता पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले आवेगमा आएर व्यवसायीहरु बोल्न नहुने तर्क दिए । उनले पोखरा नगरलाई व्यवस्थित गर्नका लागि नगरपालिकाको आसपास बाटै नो पार्किङको अभियानमा लागेको बताए ।

उनले सभागृहचोक देखी बिपीचोक सम्म १ हजार ५ सय मिटर दुरी रहेको बताउदै प्रत्येक ५ सय मिटरमा आकस्मिक (५ सवारी साधनका लागि) पार्किङ जोन बर्नाइने बताए । उनले पे पार्किङसँग कुनै मिलेमतो नभएको स्पष्ट पार्दै भने, ‘हाम्रो अभियानमा उहाँहरु आउनुभएको हो, निजी क्षेत्रबाट पनि पार्किङलाई व्यवस्थापन गर्ने कार्यमा सघाउ मात्रै गरेको हो ।’

उनले न्यूरोड क्षेत्रमा पूर्व साईडमा भन्दा बढि गल्ली पश्चिम भेग (महानगरपालिका) तर्फ रहेको बताउँदै सवारी व्यवस्थापनका लागि खालि गरिएको बताए । प्रवक्ता नेपालीले पुष १ गते सुचना जारी गरेको बताउदै भोली (बिहिबार) फेरी अर्को सुचना जारी गर्ने जानकारी दिए ।

त्यस्तै न्यूरोड क्षेत्रको पार्किङ व्यवस्थित गर्नका लागि व्यवसायिक रुपमा पे पार्किङको अवधारणा अघि सारेको फिस्टेल पार्किङका व्यवस्थापक सन्तोष पराजुलीले बताए ।उनले फिष्टेल हस्पिटलबाट पे पार्किङ सुरु गरी मन्त्र थकाली भान्छा घर हुदैँ न्यूरोड स्थिन नगरपालिका कार्यालय अगाडी र होटल दीप सागरको पारिपट्टि समेत पे पार्किङको व्यवस्था गरेको बताए ।

 ‘अब सर्वसाधारणले ट्राफिक व्यवस्थापनका लागि हो भनेर बुझे भने मेरो व्यवसाय चल्ला, होईन भने पार्टी प्यालेसमा नि लगानी गर्न सकिन्छ’ उनले भने । । पराजुलीले व्यवसाय गर्न पोखरामा महानगरबाट स्वीकृति लिएको बताउदै गत १ गते जारी गरेपछि पार्किङको मुल्य घटाएको बताए ।

‘फिस्टेल अस्पतालबाटै सुरु गरेका हौँ, अहिलेसम्म ४ ठाउँमा छ, पहिला एक घण्टाको ५० रुपैया लिने गथ्र्यौ उनले भने, महानगरले सुचना जारी गरेपछि प्रतिघण्टा ३५ रुपैया लिने गरेका छौँ हामी साधन सुरक्षित राखिदिन्छौ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.