www.tandavnews.com
Fact ~ In search of truth

मापदण्डकाे मतियार बन्दै होटल, पर्यटकले हिमाल हेर्ने कि भित्तो ?

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

यहि नोभेम्बर १२ मा यल्लो प्यागोडा होटलको फेसबुक पेजमा केहि दृश्य पोष्ट गरिएका छन् । ‘सम ग्लीम्पसे अफ पोखरा फ्रम यल्लो प्यागोडा पोखरा’ क्याप्सन दिएर ७ वटा तस्विर समावेश गरिएको छ ।

फेवाताल, ड्यामसाइड क्षेत्र, रानीबन र हिम श्रृङ्खलाको तस्विर देखिन्छ त्यहाँ । ७ तलाको यो होटल, केहि दिनअघिबाट संचालनमा आएको छ । यहाँ बस्ने पर्यटक फेवा र हिमालको दृश्यमा रमाउने पक्का भयो । तर, त्यस क्षेत्रमा हिँड्ने, अन्य होटलमा बस्ने पर्यटकले त्यो मज्जा लिन पाउने छैनन् । कारण, उक्त होटलले हिमाल छपक्कै छेक्छ, भित्तो मात्रै देखिन्छ ।

Batas

यसबारे महानगर कत्ति पनि बेखबर छैन । यस भवन निर्माणको सुरुआती चरणदेखि नै ताण्डव न्यूजले पटकपटक समाचार सम्प्रेषणसहित सचेत गराउँदा पनि पोखरा महानगर डेग चल्न सकेन ।
संचालकले पोखरा महानगरलाई पटक पटक अटेर गरेर तला थप्दाथप्दै ७ तला पुर्याइसक्दा पनि महानगर टुलुटुलु हरेर बसिरह्यो ।

मापदण्डकै कारण प्रधानमन्त्रीले उद्घाटन नगरेको त्यो होटल…

गत जेठ १८ गते लेकसाइडमा उद्घाटन गर्ने तय भएको स्विस इन्टरनेसनल होटल सरोवर मापदण्ड मिचेर बनाइएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेनन् ।

प्रधानमन्त्रीले होटल उद्घाटन गर्ने कार्यक्रमसहितको निम्तो बाँडिसकिएको थियो । त्यस्तो निम्तो देखिएपछि राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा र पत्रकारहरुले मापदण्ड विपरीतको होटल प्रधानमन्त्रीबाट उद्घाटन गरी चोख्याउन लागिएको भन्दै आलोचना गरेका थिए । आलोचनाको सूचना नेकपाका नेताहरुले गराएपछि प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रम रद्द गरेका थिए ।

महानगरपालिकाले गठन गरेको मापदण्ड निर्धारण समितिका संयोजक प्राडा इन्जिनियर भरत पहारी नै होटल सरोवरका सञ्चालक हुन् । पहारी तिनै व्यक्ति हुन् जो पटकपटक विवादमा परेका मात्रै होइनन् विशेष अदालतले भ्रष्टाचारको मुद्दामा दोषी पनि देखाएको थियो ।

‘पहारी प्रतिवेदन’ले पोखरामा तला थप्न पाइने रायसहितको प्रतिवेदन महानगरलाई बुझाएको थियो ।

के भन्छ महानगर ?

बस्ती विकास निर्देशिका २०७२ अनुसार तला थप्न पाउने मापदण्ड लागु गर्न महानगर लागि परेपनि नगर सभाबाट पास हुन सकेको छैन । तला थपिने वित्तिकै हिमाल छेकिने निश्चित छ ।

पोखरा महानगरका सुचना अधिकारी भरतराज पौडेलले मापदण्डको व्यवहारीक कार्यान्वयनमा समस्या देखिएको बताए । नीतिगत कुराहरु भएपनि व्यवहारतः ठुला व्यवसायीलाई कार्यान्वयनमा ल्याउन कठिनाई रहेको उनको भनाई छ ।

‘अब मापदण्डको कुरा गर्दा, टहराहरु त भत्काइएकै छ । ठुला भवनहरुलाई गाह्रो भयो । के भन्ने महानगर कार्यालय वरिपरि नै छन् त्यस्ता भवन ’ उनले सुनाए । ठुला भवनहरुलाई ३५ दिने सुचना निकालिएकोमा करिब ४०० भवनका फाइल कार्यलयमा आइपुगेको उनको भनाई थियो ।

ड्याम साइड क्षेत्रमा बनिरहेका अग्ला घर नियन्त्रण गर्न आफुले नसकेको वडा अध्यक्ष तिर्थराज अधिकारीले यस अघि नै बताइसकेका छन् ।

सम्बन्धीत समाचार

निरिह महानगर, लाचार वडा अध्यक्ष

पोखरा महानगर : विग्रेको मान्छेको भत्केको घर, जे–जे मन लाग्छ त्यै–त्यै गर !

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.