www.tandavnews.com
Fact ~ In search of truth

हिउँदे अधिवेशन सुरु

काठमाडौं ।

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ ।

प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गरे । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो ।

नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । विधेयक अधिवेशनलाई यस पटक सभामुख चयन गर्नेुपर्ने दायित्वसमेत थपिएको छ ।

संघीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि हाल सभामुख पद खाली छ ।

सभामुख रिक्त हुनाले उपसभामुख तुम्बाहाङ्फेले अधिवेशन प्रारम्भ भएको घोषणा गरेका हुन् । यौन दुव्यर्वहार आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पुर्पक्षका लागि थुनामा छन्।

आजका दिनसम्म कसलाई सभामुख बनाउने भन्नेबारे सत्तारुढ दल नेकपाले निर्णय गरिसकेको छैन । सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

उक्त व्यवस्थानुसार उपसभामुखलाई नै सभामुख बनाउने वा उनलाई राजीनामा गराएर अर्को सभामुख चुन्ने भन्ने प्रश्नको सम्बोधन हुन बाँकी नै छ । नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राजनीतिक सहमतिपछि यस अधिवेशनले अन्तिम रुप दिनुपर्ने कार्यभार छ ।

बैठकको प्रारम्भमा उससभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद्को पाँचौँ अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी प्राप्त पत्र पढेर सुनाए ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान पुर्याउने ज्ञातअज्ञात शहीदप्रति एक मिनेट मौनधारण पनि गरिएको थियो । राष्ट्रपति भण्डारीले गत मंसिर २४ गते संघीय संसद्को पाँचौँ अधिवेशन आजदेखि शुरु हुने गरी आह्वान गरेका थिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.