www.tandavnews.com
Fact ~ In search of truth

शीतलहर र हुस्सुले बाँकेका विपन्नलाई सास्ती

बाँके ।

बाँकेमा शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ ।

चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ ।

Batas

चिसाले बाँकेका अल्पसङ्ख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिडिमार, घँसियार, मगन्ता, कुचबधियालगायत गरीब समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । फुसले छाएका कच्ची घर, लगाउने लुगा र ओढ्ने, ओछ्याउने नभएकाले यो समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिसोले बिरामी, बालबालिका र वृद्धवृद्धा पनि प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउने उपायबारे सचेत गराउन प्रशासनले सार्वजनिक हितका लागि सूचना जारी गरेको छ । बाँकेका प्रजिअ कुमारबहादुर खड्काले न्यानो कपडा र आगो ताप्नका लागि दाउराको व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरिएको बताए ।

‘‘नेपालगञ्ज, कोहलपुरलगायत जिल्लाका विभिन्न चोकमा आगो ताप्ने व्यवस्था मिलाउन स्थानीय तहलाई भनेका छौँ,’ उनले भने । चिसो हावामा पानीको मसिनो थोपा खस्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय, नेपालगञ्जका प्रमुख पलबहादुर विश्वकर्माले गत मंगलबारदेखि शीतलहर शुरु भएको बताए ।

अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दा जाडोको महसुस बढी भएको उनको भनाइ छ । दिनभर चिसो सिरेटो चलेपछि महत्वपूर्ण काममा मात्र सर्वसाधारण बाहिर निस्कने गरेका छन् । नेपालगञ्ज–१९ का प्रमोद गिरीले चिसो हावा चलेर अत्यधिक ठण्डी बढेपछि घरबाहिर निस्कन नै नसकेको बताए । ‘चिसोले काम गर्न जाँगर पनि चल्दैन’, उनले भने ।

चिसोले बिरामी, बालबालिका र बृद्धबृद्धालाई बढी समस्या भएको छ । मुटु, श्वासप्रश्वास, बाथरोगका बिरामीलाई समस्या भएको भेरी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले बताए । उनले चिसोमा कोल्ड डाइरेरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीको समस्या बढी देखिने बताए ।

डा पाण्डेले अस्पतालमा चिसोका बिरामी बढ्न थालेको बताउँदै भने, ‘बालबालिका र वृद्धवृद्धालाई न्यानो ठाउँमा राख्न एवं झोलिलो तथा तातो खान दिनुपर्छ ।’ कोल्ड डाइरेरिया, निमोनिया, ज्वरो र रुघाखोकीले सताउने हुँदा चिसोबाट जोगिन डा .पाण्डेले सुझाव दिए ।

शीतलहर शुरु भएसँगै डिभिजन वन कार्यालय, नेपालगञ्जले दाउरा वितरण शुरु गरेको छ । नेपालगञ्ज नगरका प्रत्येक परिवारलाई प्रतिकिलो रु सातका दरले एक क्विन्टल दाउरा प्रदान गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए । नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा दाउरा वितरण गरिरहेको उनले बताए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.