www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंँमा गैरकानूनी रुपमा यात्रु बोक्ने निजी सवारी साधन कारवाहीमा

काठमाडौं ।

काठमाडौँको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ ।

सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउने कानूनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने १४ निजी सवारी साधनलाई कारवाही गरेको छ । निजी नम्बर प्लेटका सवारी साधनले नयाँ बसपार्कबाट यात्रुलाई उपत्यकाका विभिन्न ठाउँमा पुर्याएर भाडा लिँदै आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सूचनाका आधारमा १४ सवारी साधनलाई पक्राउ गरिएको जानकारी दिए ।

‘अहिले सम्झाई बुझाई गरेर छाडेका छौँ, आगामी दिनमा पनि निजी नम्बर प्लेटका सवारी साधनले यात्रुसँग भाडा लिएको थाहा पाएमा कानूनबमोजिम कारवाही गर्नेछौँ’, उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गैरकानूनी रुपमा निजी सवारी साधनले यात्रु बोक्न नपाइने बताए । ‘अवैधानिक, गैरकानूनी रुपमा चलेका यस्ता सवारी साधनलाई तत्काल रोक्न हामी सरकारलाई माग गर्दछौँ’, उनले भने । निजी सवारी साधनले यात्रु बोके यात्रु बोक्नका लागि दर्ता भएका सार्वजनिक सवारी साधनले के गर्ने ? उनले प्रश्न गरे ।

यसअघि पनि गैरकानूनी रुपमा टुटल तथा पठाओले यात्रु बोक्दै आएका थिए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार प्रयोजन विपरीत सवारी साधन चलाए दुई सयदेखि एक हजार जरिवाना हुने व्यवस्था छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.