www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र

भरतपुर । 

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र पारिएको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इञ्जिनीयरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको आयोजनाका इञ्जिनीयर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

“सडकखण्डको भित्तामा अड्किएका ढुङ्गा झार्ने काम भइरहेको छ”, उनले भने, “अहिलेसम्म तीन प्रतिशत मात्र काम भएको छ ।” जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर २७ गतेबाट दुई हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न अनुरोध गरेको थियो ।

Batas

सोहीअनुसार पुस ११ गतेसम्म सडक बन्द गरेर आयोजनाले काम गरिरहेको छ तर, माथिका ढुङ्गा झार्न अझै दुई हप्ता समय लाग्ने भएकाले दिउँसोको सवारी आवागमनमा अवरोध पुग्ने सूचना अधिकारी खनालले बताए ।

एक हप्ता समय थप गरेर भए पनि काम सम्पन्न गर्ने उनले जानकारी दिए । बाँकी काम भने सवारी साधन पुनः सञ्चालन गरेर पनि गर्न सकिनेछ, उनले भने । ढुङ्गा झारेपछि रकनेटिङ, बोल्टिङ प्रविधिबाट जाली लगाइने उनले जानकारी दिए ।

अहिले सडकखण्डको गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालीखोला क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको छ । रु १४ करोडको लागतमा बज्रगुरु, हिमसगरमाथा न्यू टेक्निकल जेभीले पहिरो रोक्ने कामको जिम्मा पाएका हुन् । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्ने इञ्जिनीयर खनालले जानकारी दिए ।

काम गर्ने अवधि छ महिना तोकिएको छ तर, यही स्तरमा कामको गति अगाडि बढे साढे तीन महिनामा सकिने खनालले बताए । अबको एक महिनामा २० प्रतिशत काम हुने खनालको भनाइ छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम भइसकेको हो । यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले जनाएको छ ।

सडकखण्डअन्तर्गत दासढुङ्गा, खानी र मौरीका तीन वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने जलवीरेको पुल ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी १४ पुलको पनि निर्माणको प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ ।

अहिले दिउँसोको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो र मालबाहक सवारीलाई दासढुङ्गामा रोकिन्छ । पोखराबाट काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएको छैन । विश्व बैंकको ऋण सहयोगमा एशियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरो नियन्त्रणको काम बाँकी रहेको थियो ।(रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.