www.tandavnews.com
Fact ~ In search of truth

आयोग राष्ट्रियसभा निर्वाचनमा केन्द्रित

काठमाडौं ।

निर्वाचन आयोगले आफ्नो सम्पूर्ण ध्यान आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति तयारीका काम तीव्ररुपमा अघि बढिरहेको र आयोगको सम्पूर्ण ध्यान अहिले उक्त निर्वाचनमा केन्द्रित रहेको आयोगका सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘निर्वाचनका लागि अब धेरै समय बाँकी नभएको र चुनावको मिति नजिकिँदै आएको सन्दर्भमा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आफ्नो सबै ध्यान कन्द्रित गरेर आयोगले तयारीको कार्यक्रम गरिरहेको छ ।’

उक्त निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेर आयोगले अभिमुखीकरणसमेत प्रदान गरिसकेको छ । यही पुस १५ गते सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । उक्त निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम हुनेछ ।

उक्त निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई आयोगले चुनाव चिह्नसमेत प्रदान गरिसकेको छ । उन्साठ्ठी सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये एकतिहाइको प्रत्येक दुई वर्षमा पदावधि सकिन्छ । आगामी फागुन २० गते पदावधि सकिने १९ जनामध्ये १८ सदस्यको निर्वाचनद्वारा चयन हुनेछ । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

आयोगले उक्त निर्वाचन प्रयोजनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, प्रदेश नं ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान केन्द्र तोकेको छ ।

त्यस्तै, प्रदेश नं ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको सुर्खेत जिल्ला वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन, सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल तोकिएको छ ।

उक्त निर्वाचनका लागि सात प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल जम्मा दुई हजार ५६ मतदाता कायम रहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.