www.tandavnews.com
Fact ~ In search of truth

सर्वसाधारणले खान छाडे ‘प्याज’

काठमाडौं ।

अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ ।

अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ ।

नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य सधैँको भन्दा बढी छ । हाल नेपालगञ्जको रानीतलाउ तरकारी बजारमा प्याजको भाउ खुद्रा प्रतिकिलो २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

तीन महिनाअघि प्रतिकिलोको ४० देखि ५० मा कारोवार भएको प्याज तीन महिनाको अवधिमा किलोमा १५० रुपैयाँ पुगेको छ । तरकारी बजारभन्दा बाहिरका खुद्रा पसलमा २५० सम्म प्रतिकिलोको कारोवार भइरहेको उपभोक्ता बताउँछन् ।

नेपालगञ्ज–१० का शुद्धप्रसाद चौधरीले प्याजको मूल्य अप्रत्यासित रुपले बढेपछि अहिले प्याज नै खान छाडेको बताए। केही दिनअघि आधा किलो प्याजको १७० तिरेको बताउँदै प्याजको मूल्य बढेको देखेर अचम्मित भएको चौधरीले बताए । पछिल्लो समय अरू तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन ।

Lama collectio News Middle

तर, प्याजमा भने एक महिनाको अवधिमा प्रतिकेजी २०० सम्म मूल्य पुगेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको नेपालगञ्जको रानीतलाउ तरकारी बजारका व्यापारी अरिसली राईले बताए । उनले भने, ‘अहिले मात्रै होइन २÷३ महिनाअघिदेखि नै प्याजको मूल्य बढ्दै आएको हो ।’

प्याजको मूल्य वृद्धि भएसँगै अहिले पहिलेको तुलनामा प्याजको व्यापार घटेको व्यापारी बताउँछन् । भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भए पनि चोरी बाटो भएर प्याज भित्रने गरेको व्यापारीको भनाइ छ । मूल्य आकाशिएपछि उपभोक्ताहरुले प्याज खान छाडेसँगै तरकारीमा अत्यधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।

नेपाली बजारमा अहिलेको प्याजको मूल्य चार वर्षयताको सबैभन्दा महङ्गो मूल्य हो । नेपालगञ्ज–११ का मकसुद राई प्याजको मूल्य मासुभन्दा महङ्गो भएको बताउँछन । ‘मासु प्रतिकेजी ८०० छ, तर प्याज एक नम्बर (पाँच किलो)को ९ सय पुग्यो, अब त खानै छाड्नुपर्ला जस्तो छ’, उनले भने ।

एक महिनाअघि प्रति पाँच केजी ४५० मा खरीद गरेको बताउँदै एक महिनामा दोब्बरले वृद्धि भएको राईको भनाइ छ । नेपालगञ्ज–१० की गृहिणी सुलोचना अधिकारीले प्याजको मूल्य किलोको २०० पुगेको कहिल्यै थाहा नपाएको बताउँदै यसरी मूल्य बढ्नुले उपभोक्ता मारमा परेको बताए ।

प्याजको मूल्यमा वृद्धिसँगै अहिले केही पसलमा प्याज नै पाउन छाडेको छ । भान्सामा दाल, तरकारी, अचार, मासलगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मूल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।

यस क्षेत्रको ठूलो हिस्सा माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाइएपछि प्याजको अभाव देखिएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery