www.tandavnews.com
Fact ~ In search of truth

खिमबहादुरको क्राइम सिन : चिजाकुमारीसँग बास मागे, गहना लुटे, लास सिरकले छोपेर तनहुँ भागे

माधव भुसाल
पोखरा,ताण्डव न्यूज ।

रात छिप्पीदै गर्दा मदिरामा मस्त थिए खिमबहादुर श्रीपाली । ८ बजेदेखि मदिरा पिउन सुरु गरेका श्रीपालीको मदिरा प्यास ९ बजेसम्म पनि मेटिएन । घडिमा साढे ९ बजिसक्यो ।

मदिराकाे मातमै उनले चिजाकुमारी विकलाई भने ‘आज यतै सुत्नुपर्यो’ । विकको नियमित मदिरा ग्राहक थिए श्रीपाली । दैनिक आइरहने भएकाले चिनजानको आधारमा भान्छा कोठामा बास दिने निर्णय भयो । विकका नातीले ओछ्यान मिलाइदिएर सुत्न अर्को घर गए । श्रीपालीले यहि मेसोमा सुत्न तरखर गरिरहेकी विकले लगाएको गहना लुट्ने योजना बनाए ।

Batas

माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा पौष ६ गते राती पौने १० बजे घटेको घटना हो यो । गहना लुट्न आक्रमण गरेपछि विकले प्रतिकार गर्ने प्रयास गरिन् । आत्तालिएकी ६६ वर्षिया विकको टाउको र अनुहारमा ३९ वर्षिय श्रीपालीले ढुंगा प्रहार गरे । विकको मृत्यु भयो । लासलाई ६ वटा सिरक/ब्लांकेटले छोपेर भएको सबै गहना लुटेर श्रीपाली फरार भए ।

रिभानमा घटना घटाएपछि श्रीपाली हिँडेर हेम्जा पुगे, जहाँ भिनाजु पर्ने भक्तबीर रसाइलीको घर थियो । त्यस रात त्यहि बिताएका श्रीपालीले चोरेको गहना बेच्ने योजना अनुसार पोखरा २७ स्थीत एक सुनचादी पसलमा गए ।

सबै गहना किन्न पसल सञ्चालक तयार भएनन् । केही भने किने । बाँकी गहना बोकेर श्रीपाली तनहुँ हानीए । ब्यास २ मा रहेको एक सुन चाँदी पसलमा बाँकी गहना बेचे ।

गहना बेचेको पैसाले ब्यास १ भादगाउँमा डेरा लिए । नजिकैको फर्निचर पसलबाट खाट लगायतका सामान लिए ।

यता कास्की प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको थियो । क्राइम सिन, नातीसँगको सोधपुछ पछि हत्यारा पहिचान गरिसकेको प्रहरीले पक्राउ गर्न मात्र बाँकी थियो ।

अन्ततः पोष १२ गते ब्यास २ उत्तरसिला फिल्म हल नजिकबाट खेमबहादुर श्रीपाली पक्राउ परे । कास्की प्रहरीले श्रीपालीले बेचेको गहना बरामद गरि खरिद गर्नेहरुलाई कानुनी कारवाही अगाडी बढाएको छ ।

श्रीपाली विरुद्ध कर्तब्य ज्यान र डाँका चोरी शिर्षकमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दान बहादुर कार्कीले जानकारी दिए ।

श्रीपालीको ठगी धन्दा

धवलागिरी गाउँपालिका ५ घर भई पोखरा २५ हेम्जा बस्दै आएका श्रीपाली ७ वर्ष कतार बसेका थिए । देश फर्किएपछि उनले ठगी धन्दा सुरु गरे । कास्कीका विभिन्न स्थानका महिलाहरु उनको टार्गेट बन्यो । महिलाहरुसँग सम्पर्क गर्दै सँगै बस्ने, बिहे गर्ने निहुँमा रकम माग्ने उनको पेशा बनेको थियो । उनले चिनजान भएका ब्यक्तिसँग पनि रकम माग्ने गरेकाे अनुसन्धानबाट खुल्न अाएकाे प्रहरीले जनाएकाे छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.