www.tandavnews.com
Fact ~ In search of truth

दिनमै पाँच हजार लाइसेन्स छपाई

काठमाडौं ।

झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ ।

दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत यो सङ्ख्यामा छपाइ भइरहेको हो । केही दिनपछि नै दैनिक तीन सिफ्टमा ‘मास प्रिन्टर’ सञ्चालन हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

सो उपकरण निर्माण गर्ने कम्पनीले एकैपटक लामो समयसम्म सञ्चालन गर्न नहुने सल्लाहअनुसार अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ । छपाइमा रहेको ढिलाइ हटाउन केही दिनभित्रै दैनिक तीन ‘सिफ्ट’ मा अनुमतिपत्र छापिने भएको छ ।

मास प्रिन्टर दैनिक तीन सिफ्ट सञ्चालन गर्ने र अरु प्रिन्टरमार्फत दैनिक नौ हजारसम्म चालक अनुमतिपत्र छपाइ गरिसक्ने योजना विभागको छ । आगामी चार÷पाँच महिनाभित्रैमा छापिसक्न बाँकी रहेका चालक अनुमतिपत्र छपाइ हुने उनको भनाइ छ ।

‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ । पुराना चार उपकरण मर्मत गर्न लागिएको उनले विभागले जनाएको छ । तीन ‘सिफ्ट’मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए ।

‘मास प्रिन्टर’ सञ्चालनकै लागि अहिले विभागका सात जना कर्मचारीले अहिले तालिम लिइरहेका छन् । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्दै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.