www.tandavnews.com
Fact ~ In search of truth

भ्रमण वर्ष : बागलुङको पञ्चकोटमा बढे आन्तरिक पर्यटक

बागलुङ ।

बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोट घुम्न पुग्ने पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ ।

निर्माणाधीन अवस्थामै रहेको पञ्चकोट पछिल्लो समय बागलुङको प्रमुख पर्यटकीय आर्कषणको रुपमा लिन थालिको छ । पञ्चकोटको सुन्दर दृश्य र प्रचारप्रसारका कारण सबैको मानसपटलमा पञ्चकोट नै रहेको हुन्छ । पछिल्लो समय मुस्ताङ जाने पर्यटकको रोजाइमा पञ्चकोट पर्दै आएको छ ।

पञ्चकोटमा हरेक शनिबार एक हजाारदेखि दुई हजार आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिन तीन सयदेखि ५०० सम्म पर्यटक आउन थालेको विश्व शान्ति सर्वद्धिधाम पञ्चकोटले जनाएको छ । मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृति संरचना हेर्न जिल्ला तथा जिल्ला बाहिरका पर्यटक पुग्न थालेका हुन् ।

बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा घुम्न गएका म्याग्दी गौशाराका माया थापाले पञ्चकोट एक अलौकिक धार्मिकस्थलका रुपमा रहेको बताए । जिल्ला सदरमुकामबाट अत्यन्तै नजिक तथा पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइ पञ्चकोट पर्दै गएको वडाध्यक्ष तथा पञ्चकोटका उपाध्यक्ष खिमराज सापकोटाले बताए । सापकोटाले भने ‘अबको केही वर्षमा पञ्चकोटमा थेगी नसक्नु पर्यटकहरु आउनेमा आशंका छैन ।’

जिल्ला सदरमुकामबाट ८ किलोमिटरमा रहेको यहाँ बागलुङ भित्रने अधिकांश पर्यटक जाने गरेको जिल्ला होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकरी दिए । वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ ।

पञ्चकोटमा हालसम्म करिब ३० करोड खर्च भइसकेको छ । ६० करोडको लागतमा पञ्चकोटमा निर्माण हुन थालेको १०८ फिट अग्लो कलशको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटको निर्माण कार्य नसकिँदै पर्यटकको भीड लाग्न थालेको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । उनले धर्मको संरक्षणसँगै प्रचारप्रसारका लागि पञ्चकोट र शालिग्राम शिलाले ठूलो योगदान पुर्याएको बताए ।

स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ सालदेखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक स्कलन गरिँदै आएको छ ।

अत्यन्तै आकर्षक शैलीमा निर्माण भएका मन्दिर र आवश्यक पूर्वाधार निर्माण भइरहेको अवस्थामा नै, पूजापाठ, अध्ययन तथा अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको हो ।

बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य छ । समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौलागिरि, निलगिरिलगायतका दर्जनबढी हिमश्रृङ्खला देख्न सकिन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.