www.tandavnews.com
Fact ~ In search of truth

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दी ।

हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो ।

पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले जानकारी दिए ।

Batas

बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो । गुइँठेभिरमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक सडक बनाउने प्रयास गरे पनि सफल भएको थिएन ।

बाइपास सडक सफल नभएपछि पुरानै बाटो मर्मत गरेर सवारी सञ्चालन गरिएको सीमा प्रहरी चौकी भुरुङ्ग–तातोपानीका ट्राफिक प्रहरी लक्ष्मण क्षेत्रीले बताए । पहिरो पन्छाउन जोखिम मोलेर काम गरेका एक्साभेटर चालकलाई सुपरभाइजर शेरचनले व्यक्तिगतरूपमा पाँच हजार पुरस्कार दिएको बताए ।

सडक अवरुद्ध हुँदा देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका थिए । यातायात व्यवसायीले गाडी बदली गरेर यात्रुलाई गन्तव्यमा पुर्याउने व्यवस्था मिलाए पनि ढुवानीका साधनको आवतजावत ठप्प भएको थियो ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइँठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ । स्थानीयवासी, मुुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटकहरु प्रभावित भएका छन् ।

यसैबीच बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी रोकिने भएको छ । स्तरोन्नतिका लागि सवारी रोकेर सडक विस्तारको काम गर्न लागिएको हो । बिहान ७।३० देखि ११ र दिउँसो २.३० देखि साँझ ६ बजेसम्म सवारी रोकिने आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए।

सवारी साधनको चाप कम हुने समयमा कामलाई गति दिन समयतालिका बनाइएको उनले बताए । बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्मको प्याकेज एकमा सडक फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने तथा ग्रेड मिलाउने काम भइरहेको छ ।

प्याकेज २, ३ र ४ खण्डमा पहाड काट्ने, फराकिलो बनाउने र पर्खाल निर्माण भइरहेको छ । विसं २०७४ मा भएको ठेक्का सम्झौताको म्याद मंसिरमा सकिएको छ । आउँदो जेठसम्म म्याद थपको तयारी भएको आयोजनाले जनाएको छ ।

उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट जोमसोम खण्डको ५० प्रतिशत र जोमसोमबाट कोरला खण्डको ८० प्रतिशत भौतिक प्रगति भएको छ । सात प्याकेजमा सञ्चालित ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको अन्तिमपटक थप भएको म्याद आगामी असारमा सकिँदैछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.