www.tandavnews.com
Fact ~ In search of truth

बन्दीपुरका अति विपन्न परिवारलाई सौर्यबत्ती

तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सौर्यबत्ती वितरण गरेको छ ।

गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्नसक्ने क्षमता नभएका घरधुरी छनोट गरी गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सौर्यबत्ती वितरण गरेको हो ।

Batas

अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

थापाका अनुसार बाक्सेका छ र खहरेका एक घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको छ । उक्त ठाउँका विष्णु नेपाली, सन्तमाया परियार, आइत थापा, आधीमाया थापा, कालु परियार, माया थापा र रश्मी थापालाई सौर्यबत्ती वितरण गरिएको हो ।

‘बिजुली नपुगेको गाउँका अतिविपन्न र बिजुली पुगे पनि मिटर राख्नसक्ने हैसियत नभएका घरधुरी छानेर सौर्यबत्ती वितरण गरेका हौँ’, थापाले भने, ‘अन्य विपन्नलाई पनि क्रमशः सौर्यबत्ती वितरण गरिनेछ ।’

सोलार प्यानल पाउने सात घरधुरी नै सुकुम्बासी परिवार हो । सार्वजनिक जग्गामा घर बनाएर बसेका उनीहरुले मिटर जडान गर्न पाएका छैनन् । प्रतिघर २५ हजार मूल्य बराबरको सोलार प्यानल वितरण गरिएको र जडानको खर्च पनि गाउँपालिकाले व्यहोेर्ने अध्यक्ष थापाले जानकारी दिए।

ती सौर्य उपकरणबाट चारसम्म बत्ती बाल्न पुग्छ । ‘उज्यालो बन्दीपुर बनाउने लक्ष्यसहित बिजुली नपुगेका ठाउँमा विद्युतीकरण गर्ने लक्ष्य गाउँपालिकाको हो’, थापाले भने । गाउँपालिकाले सौर्यबत्ती प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् ।

अहिलेसम्म मैनबत्ती र टुकीको भरमा बत्ती बाल्दै आएकामा सौर्यबत्ती पाएपछि घर नै उज्यालो हुने भन्दै स्थानीयवासी विष्णु नेपालीले खुशी व्यक्त गरे । बिजुली बाल्न मिटर जडान गर्नसक्ने अवस्था नरहेको अवस्थामा गाउँपालिकाले सौर्यबत्ती वितरण गरेर उदाहरणीय काम गरेको अर्का स्थानीयवासी सन्तमाया परियारले बताए ।

गाउँपालिकाले केही समय अगाडि गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, नीरमाया प्रजा, प्रेमबहादुर रिलामी मगरलाई सौर्यबत्ती वितरण गरेको थियो ।

गाउँपालिकाको भवन निर्माण शुरु

तनहुँको घिरिङ गाउँपालिकाको प्रशासनिक भवन निर्माणकार्य शुरु भएको छ । घिरिङ गाउँपालिका–३ पोखरीछापमा नौ करोड ११ लाखको लागतमा बन्ने भवनको पहिलो चरणको काम शुरु भएको हो । तीन तलाको भवनको पहिलो चरणमा एक तला निर्माण गरिने गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए।

भवन निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड र प्रदेश सरकारले एक करोड विनियोजन गरेका छन् । पहिलो चरणमा दुई करोडको लागतमा चालू आर्थिक वर्षभित्रै पहिलो तला निर्माण सम्पन्न गरिने रानाले बताए । भवन निर्माणको ठेक्का नवलपुरस्थित सम्राट बिल्डर्स प्रालिले पाएको छ ।

‘दोस्रो र तेस्रो चरणको काम आगामी आर्थिक वर्ष गरिनेछ’, अध्यक्ष रानाले भने, ‘चालू आर्थिक वर्षको जेठ मसान्तसम्म पहिलो तला निर्माण सम्पन्न हुनेछ ।’ गाउँपालिकाले हाल भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ ।

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहज भइरहेकाले प्रदेश सरकारसँगको समन्वयमा भवन निर्माण शुरु गरिएको रानाले बताए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.