www.tandavnews.com
Fact ~ In search of truth

बालविवाह र हिंसा न्यूनीकरणमा जुटे सिन्धुलीका किशोरी

सिन्धुली ।

बीस वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानूनतः गैरकानूनी मानिन्छ । यस्तो विवाह गराउनेलाई कारवाही हुने व्यवस्था गरिएको छ ।

तैपनि परम्परागत अभ्यासलाई नै निरन्तरता दिने बहानामा बालविवाह भइरहेका छन् तर यहाँको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका किशोरी हानिकारक परम्परागत अभ्यासविरुद्ध जुट्दै आएका छन् ।

दुधौली नगरपालिका–३ निपानेमा रहेका किशोरी अहिले समूहमा आबद्ध भएका छन् । उनीहरुले किशोरी अवस्थामा हुने परिवर्तन, सामाजिक मूल्य मान्यता, किशोरीलाई आइपर्ने समस्या र समाधानका लागि चाल्नुपर्ने कदम, किशोरीमा हुने हिंसाजस्ता विषयमा खुलेर छलफल गर्न थालेका छन् ।

यस्तो छलफलपछि किशोरीमा हुने हिंसाको विषयमा अभिभावकसमेत उक्त समूहमा आई पीडकलाई कारवाही गराउन सफल भएका छन् । निपानेमा रहेको समाज सुधार किशोरी समूहले मासिकरुपमा आफूहरुका समस्याबारे खुलेर छलफल गर्दै आएका छन् ।

मासिक रुपमा हुने छलफलमा किशोरीको महिनावारी र विवाहवारी लगायत किशोरीमा हुने हिंसा र समाज परिवर्तनमा किशोरीको भूमिका लगायतका विषयमा छलफल हुने गरेको समूहकी अध्यक्ष सुशीला अधिकारी दनुवारले बताए ।

उनले भने, ‘विगतमा किशोरी हिंसामा परे भने अभिभावकको इज्जत जोगाउन हिंसा सहेर बस्नुपर्ने बाध्यता रहेको थियो ।’ हिंसा सहेर बस्नु भनेको हिंसा गर्नु सरह भएको भन्दै उनले आफूहरु अहिले किशोरीमा आइपर्ने समस्या समाधान गर्न समूहमार्फत छलफल र पीडकलाई कारवाही गराउन सरोकारवाला निकायलाई दबाब दिँदै आएको बताए ।

कम उमेर भएकी छोरीको विवाह गर्दा धर्म हुने भन्दै बालविवाह बढ्दो अवस्थामा रहेको र बालविवाहबाट बालिकामा पर्ने शारीरिक तथा मानसिक समस्याका बारेमा समेत आफूहरुले अभिभावकलाई जानकारी गराउने गरेको उनको भनाइ छ ।

‘मासिकरुपमा गाउँभरि छलफल गर्दा पनि केही अभिभावकले बालविवाह गर्न आफ्ना बाल्यवस्थाका छोरीहरुलाई दबाब दिने गरेको र केही समय अघिसम्म हुने गरेको बालविवाहसमेत आफूहरुले रोक्न सफल भएका छौँ’, उनले भने ।

ओरेक नेपाल संस्थाले किशोरीहरुलाई तालीम दिएपछि आफ्ना अधिकार र हिंसाका बारेमा खुलेर बोल्न सक्ने भएको उनले बताए । समूहकी अध्यक्ष सुशीला भन्छन्, ‘हिजो घर बाहिर हिँडडुल गर्दा केटाहरुले जिस्क्याउने, अस्लिल शब्द बोल्ने गरे पनि आफूहरु चुपचाप बस्ने गर्दा उनीहरुको मनोबल बढ्दै जाने र पछि बलात्कार तथा बालिकाको हत्याजस्ता घटना हुने भन्दै अब गाउँ समाजमा कुनै पनि केटाहरुले किशोरी तथा बालिकालाई जिस्क्याउने, अस्लिल शब्द बोल्ने गरेमा तत्काल कारवाही गर्न हामी स्थानीय सरकार तथा प्रहरीसमक्ष जाने गरेका छौँ ।’

हिजो किशोरी तथा बालिकाहरु हिंसामा परे पनि सहेर बस्नुपर्छ भन्दै उल्टै उनीहरुलाई गाली गर्ने अभिभावकसमेत अहिले आफ्ना छोरीहरुको समस्या लिएर समूहमा आउने गरेको समूहका सदस्य मनिता अधिकारी दनुवारले बताए ।

‘हिजो जे समस्या भए पनि छोरीको कर्म हो धेरै समस्या झेल्नु पर्दछ, सहेर बस्नुपर्दछ भन्ने आमाबुबा अहिले छोरीहरुलाई केही भयो कि अहिले समूहमा छलफल गर्न आउँछन्’, उनले भने ।

वडाका किशोरीले अब आफ्नो वडामा विद्यालय जाने रहर हुँदाहुँदै पनि जान नसकेका र लामो समयदेखि अध्ययन गर्न नपाएका युवाको तथ्यांक संकलन गर्ने र नगरपालिकासँग उनीहरुलाई सीपमूलक तालीम दिई आयआर्जन तथा आधुनिक कृषिखेतीतर्फ लाग्न आग्रह गर्ने पुनम अधिकारीले बताए ।

स्थानीय किशोरीहरुले सञ्चालन गरेका यौन दुव्र्यवहार, घरेलु हिंसा, मदिराजन्य पदार्थ सेवनबाट हुने हानि, बालविवाह न्यूनीकरणलगायतका विषयमा घरदैलो, सचेतीकरण, स्कूल शिक्षालगायतका कार्यक्रम निकै प्रधावकारी भएको दाबी गरे।

किशोरीहरुको प्रयासपछि महिनावारीका समयमा व्यक्तिगत सरसफाइका बारेमा सिकाउने, महिनावारी हुँदा सफा कपडा प्रयोग गर्ने र उक्त कपडा धोएपछि घाममा सुकाउनेजस्ता व्यवहारमा परिवर्तन आएको स्थानीय मैनादेवी राईले बताए । ‘‘हिजो महिनावारी हुँदा स्कूल नजाने छात्राहरु अहिले नियमित विद्यालयसमेत जाने गरेका छन्’, उनले भने ।

दुधौली नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख रमा तामाङले त्यस क्षेत्रमा रहेका बालबालिकामा नेतृत्व विकासमा सक्षम रहेको बताए । आफ्ना समस्याबारे खुलेर छलफल गर्दै समाधान गर्नतर्फ अग्रसर हुनु नै महत्वपूर्ण कुरा रहेको उनको भनाइ छ ।

नगरपालिकाका उपप्रमुख बालकुमारी अधिकारी दनुवारले पालिकाभित्रका बालबालिका तथा किशोरीको मागका आधारमा कार्यक्रम सञ्चालन गर्ने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.