www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा वर्षौदेखिको पिउने पानीको समस्या अन्त्य

बागलुङ ।

निसीखोला गाउँपालिका–२ काल्नेचौरमा गाउँदेखि ५०० मिटर तलको मुहानबाट ‘पम्पिङ’ गरेर खानेपानी उपलब्घ गराइएको छ । अर्नाकोट देउराली ग्रामिण खानपानी तथा सरसफाइ आयोजनामार्फत देउराली, घम्पु, बेङ्ग्री र थुम गाउँका १९२ घरधुरीमा खानेपानी सुविधा पुगेको हो ।

खानेपानी ‘पम्पिङ’ गर्न १८ किलोवाटको लघुजलविद्युत् आयोजनासमेत निर्माण गरिएको आयोजनाका अध्यक्ष लालबहादुर कुँवरले जानकारी दिए । निसीखोला गाउँपालिकाको ३६ लाख अनुदान, रेडक्रस कास्कीमार्फत् युनिका फाउण्डेशन नेदरल्याण्डस्को १९ लाख तथा स्थानीयवासीको १५ लाख रुपैयाँ बराबरको जनश्रमदान गरी करिव ७० लाखको लागतमा आयोजना सम्पन्न भएको जनाइएको छ ।

आयोजना निर्माणमा कर्मफ्लाइट्स फाउण्डेशन र एशियन पावर कम्पनीले प्राविधिक सहयोग गरेका थिए । आयोजनाबाट उत्पादित बिजुलीमध्ये १० किलोवाट स्थानीयवासीले उपभोग गरेका छन् । बाँकी पानी ‘पम्पिङ’मा खपत भएको छ । चरम खानेपानीको संकट व्यहोर्दै आएका स्थानीयवासी गाउँमा खानेपानी ल्याइएपछि औधि खुशी छन् ।

गाउँको तल मुहान भएका कारण गाउँमा खानेपानी सुविधा पुर्याउन सहज थिएन । आठ वर्षअघि सोही ठाउँमा बनेको ‘पम्पिङ’ आयोजना प्रभावकारी नभएपछि नयाँ आयोजना निर्माण गरिएको थियो ।

आयोजना निर्माणको काम गत जेठ १५ गतेदेखि शुरु भएको थियो । आयोजना क्षेत्रमा रहेका पुराना खानेपानी ट्यांकीसमेत मर्मत गरी प्रयोगमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले सबै गाउँबस्तीमा स्वच्छ खानेपानीको सुविधा पुर्याइने बताए ।

‘विभिन्न निकाय र संघसंस्थासँग मिलेर खानेपानी र सरसफाइको अभियानलाई तीव्रताका साथ अगाडि बढाउँछौँ’, उनले भने । अर्नाकोट आधारभूत विद्यालयका प्रधानाध्यापक बेगबहादुर कुँवरले ‘पम्पिङ’ प्रविधिको खानेपानी आयोजनाले गाउँलेलाई राहत दिलाएको प्रतिक्रिया दिए ।

पछिल्लो समय जिल्लामा यस्तो प्रविधि अपनाएर धमाधम खानेपानी आयोजना निर्माण भइरहेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.