www.tandavnews.com
Fact ~ In search of truth

स्याङजामा प्रभावकारी बन्दै बायोग्याँस प्लान्ट नमूना

स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निर्माण गरिएको बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै गएको छ ।

देशका विभिन्न शहरमा दिसाजन्य लेदो व्यवस्थापनमा समस्या देखिरहेका बेला स्याङ्जाको पुतलीबजार नगरपालिकाले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको परिसरमा निर्माण गरेको बायोग्याँस प्लान्ट नमूना बनेको हो ।

Batas

सार्वजनिक शौचालय निर्माणका लागि उपयुक्त स्थानमा जग्गा फेला नपरेपछि नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी कार्यालय परिसरमा सार्वजनिक शौचालय निर्माण गरी त्यहीँबाट बायोग्याँस निकालिएको नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताए ।

प्रहरी कार्यालयको जग्गामा दुईतिर फर्काएर सार्वजनिक शौचालय निर्माण गरिएको छ । कम्पाउण्डभित्रपट्टिको शौचालय प्रहरी तथा कार्यालयमा जाने सेवाग्राहीले र कम्पाउण्डभन्दा बाहिरपट्टि फर्किएको शौचालयमा अन्य सर्वसाधारणले प्रयोग गर्ने गरेका छन् ।

‘नगरपालिकाले ३३ लाखको लगानीमा प्रहरी र सर्वसाधारणका लागि निर्माण गरेको शौचालयबाट बायोग्याँस उत्पादन हुने गरेको छ’, नगरप्रमुख क्षेत्रीले भने, ‘यो प्लान्ट गण्डकी प्रदेशमै पहिलो नमूना र प्रभावकारी बन्न पुगेको छ ।’ सार्वजनिक शौचालय निर्माण गर्दैगर्दा प्रहरी कार्यालयमा बायोग्याँस सहज भएको नगरप्रमुख क्षेत्रीको भनाइ थियो ।

‘नगरपालिकाको पहलमा पहिलोपटक निर्माण भएको बायोग्याँस प्लान्ट सफल भएको छ’, नगरप्रमुख क्षेत्रीले भने, ‘अब छिट्टै जिल्ला कारागार स्याङ्जामा सोही किसिमको प्लान्ट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भइसकेको छ ।’ प्रहरी कार्यालय परिसरमा निर्माण भएको बायोग्याँस प्लान्टले ७०÷८० जनालाई दैनिक खाना पकाउन सहज भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

‘पहिले सिलिण्डर ग्याँसको प्रयोग गरेर मेस चलाउनुपर्ने अवस्था थियो’, प्रहरी प्रवक्ता भण्डारीले भने, ‘बायोग्याँस प्लान्टले सिलिण्डर किन्ने खर्च बच्नुका साथै छिटो छरितो र सहज भएको छ ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.