www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धिःनेता नेपाल

कञ्चनपुर ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन् । प्रेस संगठन कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गरे ।

‘प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ’, उनले भने, ‘जनभावनाअनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।’ जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उनले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुंगो लगाउने जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आ–आफ्नो विशेषतालाई पर्यटकसामु पुर्याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो । ‘पर्यटन आर्थिक विकासको इन्जिन हो’, उनले भने, ‘यसलाई गतिशील बनाउन आवश्यक छ ।’

भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुंगो लगाउनुपर्ने भन्दै उनले त्यसका लागि अहिले उपयुक्त समय भएको बताए । ‘आर्थिक विकासका लागि सबैसित सद्भाव चाहन्छौँ’, उनले भने, ‘छिमेकीले एकअर्काको विश्वास जित्नु ठूलो कुरा हो ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.