www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा चितुवाको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

तनहुँ ।

चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको भानु नगरपालिकास्थित दुई बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका तीन वर्षीय आशिष बानियाँ र –२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई वन कार्यालयले जनही नौ लाख ५० हजार उपलब्ध गराएको हो ।

कार्यालयले घटनालगत्तै किरिया खर्चबापत रु ५०÷५० हजार पीडित परिवारलाई प्रदान गरेको थियो । बानियाँको गत असोज २१ गते र रोकाको कात्तिक ११ गते चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वन कार्यालयका प्रमुख केदार बरालले राहत रकम आज बानियाँका बुबा विष्णुबहादुर र रोकाका आमा सिर्जनालाई प्रदान गरे । नगरपालिकाका प्रमुख गौलीले राहत रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताए ।

डेढ वर्षमा भानुमा मात्रै ६ बालबालिकाको मृत्यु भइसकेकाले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । ‘हाल भानुमा चितुवाको आक्रमण रोकिए पनि ढुक्कसँग बस्नसक्ने अवस्था छैन,’ गौलीले भने ।

डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको जानकारी दिए । वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तु क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने उल्लेख छ ।

वन कार्यालय तनहुँले भानुमा चितुवाको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहतस्वरुप १०-१० लाख प्रदान गरिसकेको छ ।त्यस्तै आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र पुस १४ गते चितुवाको आक्रमणबाट मृत्यु भएका शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रविन नेपालीको परिवारलाई तत्कालै ५० हजार राहत उपलब्ध गराइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.