www.tandavnews.com
Fact ~ In search of truth

टिकट बिना रेल चढे २५ हजार जरिवाना

काठमाडौं ।

अबको एक महिनामा नेपालको आफ्नै रेल आउने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नीतिगत पूर्वतयारी गरेको छ। तत्काललाई भारतको जयनगरदेखि नेपालको कुर्था (जनकपुर)सम्म रेल यातायात सेवा सञ्चालनमा आउँदै छ।

नेपालको रेलमा टिकट नलिई चढे जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार गर्दै टिकट बिना यात्रा गर्ने यात्रुलाई २५ हजार रुपैयाँ जरिवाना लाग्ने जनाएको छ ।

विधेयकको दफा ३३ को उपदफा ४ मा रेलको टिकट नलिएर यात्रा गर्नेलाई २५ हजार जरिवाना गर्ने प्रस्ताव पेश गरेको छ।कुनै व्यक्तिले टिकट वा यात्रा अनुमतिपत्र नलिई यात्रा गरेको भेटिएमा भाडा असुलिनेछ। यदि भाडा रकम नबुझाएमा वा बुझाउन इन्कार गरेमा भाडा असुल गरी थप २५ हजार रुपैयाँ जरिवाना गर्न सकिने विधेयकमा उल्लेख छ।

विधेयकले रेलसेवा सञ्चालनमा अवरोध पुर्याए कैद तथा जरिवाना गराउन सक्ने व्यवस्था गरेको छ। रेलमा आगो लगाउने, विस्फोटक पदार्थ ओछ्याउने, अवरोध पुर्याउने, डरत्रास देखाई बन्द गर्दा उक्त सजाय हुनेछ। यस्तो कसुरबाट कसैको ज्यान गएमा ज्यान मारेसरह मुद्दा लाग्ने भनिएको छ।

ज्यान नगएको तर कसुरमात्र गरेको अवस्थामा १० वर्षसम्म कैद र दुई लाख रुपियाँसम्म जरिवाना हुनेछ। दफा ७० मा रेल दुर्घटना भए क्षतिपूर्ति वा किरिया खर्च उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ। जसमा चोटपटक लागेमा औषधिउपचार खर्चबापत एकलाख रुपैयाँसम्म, अंगभंग भए दुई लाख पचास हजार र त्यस्तो अंग काम लाग्ने भए घाउ खर्चबापत एक लाख पचास हजारसम्म क्षतिपूर्ति दिनुपर्ने बताएको छ ।

त्यस्तै कुनै व्यक्तिको मृत्यु भएमा किरिया खर्चबापत दुई लाख र क्षतिपूर्तिबापत पाँच लाखसम्म र दुर्घटनाबाट कुनै व्यक्तिको सम्पत्ति हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानीबापत पाँच लाख रुपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.