www.tandavnews.com
Fact ~ In search of truth

धर्म र पर्यटनसँग जोडिदैँ कास्कीको नौधारे सिद्धबराह

पोखरा ।

पोखरा महानगरपालिका–१६ स्थित नौधारे सिद्धबराह क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने भएको छ ।

धेरै सम्भावना भएर पनि प्रर्वद्धनको अभावमा पछि परेको भन्दै नौधारे सिद्धबराह युवा क्लबको सक्रियतामा यहाँको पूर्वाधार विकास र प्रचारप्रसारको पहल थालिएको हो ।क्लबका अध्यक्ष शम्शेरबहादुर गुरुङले आवश्यक पूर्वाधार विकास गर्दै यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारसँग माग गरिएको जानकारी दिए ।

साबिक अर्मला गाविस–५ रञ्जितगाउँका स्थानीयवासीले विसं २०१३ यता बर्सेनी माघे सङ्क्रान्तिका अवसरमा मेला गर्दै आएकामा यस वर्ष पनि त्यसलाई निरन्तरता दिँदै मेलालाई नौधारे सिद्धबराह र आसपासका क्षेत्रको प्रर्वद्धनका लागि उपयोग गरिने गुरुङले बताए।

उनका अनुसार रञ्जितगाउँ पूर्व–उत्तरतर्फको जङ्गलको ठूलो पहराको बीचबाट पानी निस्केको छ । नौवटा मूलबाट पानी निस्केको विश्वासका आधारमा यसलाई नौधारे भनिएको र परापूर्वकालदेखि यस ठाउँमा माघे सङ्क्रान्तिमा मेला लाग्ने गरेको छ ।

माघे सङ्क्रान्तिका दिन यहाँका नौ धारामा स्नान र दर्शन गरी तरुल, मासको टीका लगाई आशीर्वाद लिने र कन्याहरूलाई टीका लगाई आशीर्वाद दिने चलन छ ।रञ्जितगाउँबाट करिब डेढ घण्टा समयावधिमा पुग्न सकिने उत्तरतर्फको मूलकोट भूमि पार्केडाँडा, नागीडाँडालगायतका ठाउँबाट माछापुच्छ्रेसहित पोखरालगायतका दृश्य एकसाथ अवलोकन गर्न सकिने उनले जानकारी दिए ।

आगामी माघ १ देखि ३ गतेसम्म चल्ने मेलाका अवसरमा यहाँ सञ्चालित घरवास कार्यक्रमको प्रचारप्रसारका साथै भलिबल, ठेलो हान्ने, रस्साकस्सी लगायतका प्रतियोगिता गरिने भएको क्लबले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.