www.tandavnews.com
Fact ~ In search of truth

जनक शिक्षालाई सातै प्रदेशबाट सञ्चालन गर्छौं :मन्त्री पोखरेल

भक्तपुर ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर पाठ्यपुस्तक छपाइको अनुगमन गरेका छन् ।

शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टराई लगायतको टोलीले केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रंगीन पाठ्यपुस्तक छपाइको अनुगमन गरेको हो ।

Batas

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले अब सातवटै प्रदेशमा केन्द्रको कार्यालय विस्तार गर्दै प्रदेशबाटै पुस्तक छपाइ र वितरणको काम शुरु गर्ने गृहकार्यमा लागेको बताए । उनले ७५३ वटै तहमा कार्यालय स्थापना गर्न नसकिने भन्दै प्रदेशमै केन्द्रको कार्यालय खोलेर अगाडि बढाउनुपर्ने बताए ।

फागुन र वैशाखबाट नयाँ शैक्षिकसत्र शुरु हुने भएकाले पाठ्यपुस्तक समयमै पुर्याउन सकिने आधार पाएको बताउँदै उनले भने, ‘अहिलेको अवस्था हेर्दा समयमै केटाकेटीलाई पुस्तक पुर्याउने हाम्रो पहिलो जिम्मेवारी पूरा गर्न सक्छौ, कुनै समस्या आएमा सचिवस्तरीय बैठकले सुल्झाएर अगाडि बढ्छ ।’

आफू २०७२ सालमा शिक्षामन्त्री हुँदा रंगीन पुस्तक छपाउने सपना र निर्णय अहिले पूरा भएको बताउँदै मन्त्री पोखरेलले भने, ‘मेरो २०७२ को सपना अहिले आएर साकार हुँदै आएको छ, २०७२ मा नेपालको झण्डा पनि कालो छापिन्थ्यो, त्यसैले रंगीन पुस्तक छाप्ने निर्णय गर्यौ, अहिले कक्षा ८ सम्म पुस्तक रंगीनमा छाप्दैछौँ, त्यो सपना पूरा हुँदैछ ।’

समयमै पुस्तक छपाइ गरेर समयमै विद्यालयहरुमा पुर्याउन केन्द्रले आफैँलाई परिवर्तन गर्दैै लैजानु जरुरी रहेको बताउँदै उनले केन्द्र अब आफैँ पनि आत्मनिर्भरतर्फ जानुपर्ने बताए।

सार्वजनिक संस्था जसरी पनि सफल हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उनले केन्द्रमा नयाँ प्रविधि र नयाँ मेशिन आएकाले पुस्तक छपाइसँगै संस्थालाई आत्मनिर्भर बनाउन नयाँ योजना र नयाँ काम ल्याउनुपर्नेमा जोड दिए ।

सचिव दाहालले कामदारको क्षमता अभिवृद्धि गर्नुपर्ने, संस्थागत प्रबन्ध गर्दै समयानुकूल यसको संरचना र कर्मचारीलाई नयाँ ढंगले लैजानुपर्नेमा जोड दिए । उनले केन्द्रले अब पुस्तकमात्रै छाप्ने नभई सबै मेशिनलाई पूर्ण उपयोग गर्ने गरी बाहिरबाट काम ल्याएर सञ्चालन गर्दै संस्थाको आम्दानी बढाउनेतिर लाग्नुपर्ने बताए।

केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमिल्सिनाले विगत दुई वर्षदेखि समयमै पुस्तक छपाइ सकेर डिलरमा पु¥याउने गरेको बताए । उनले भने, ‘पुस्तकको पैसा नगरपालिकामा गएको हुन्छ, त्यहाँबाट विद्यालयमा जान ढिला भयो र नगरपालिका तथा विद्यालय बीचको संयोजन मिलेन भने पनि पुस्तक समयमै पुग्दैन, समयमै पुस्तक छपाइ सकेर सबै पुस्तक क्षेत्रीय कार्यालयमा पुर्याउने र एक हजार एक सय डिलरबाट मार्फत वितरण गर्ने गरेका छौँ ।’

स्कुलमा समयमै बजेट पुगेन भने पनि किताब नउठाइदिने गरेको बताउँदै कतिपय अवस्थामा नगरपालिकाले रकम निकासा नगरिदिँदा विद्यार्थीको हातमा समयमै पुस्तक नपुग्ने गरेको उनको भनाइ थियो ।

यो वर्ष १० कक्षासम्म दुई करोड पुस्तक छपाइ गर्ने बताउँदै सञ्चालक तिमिल्सिनाले कक्षा ५, ९ र १० का लागि आवश्यक एक करोड १० लाख पुस्तक छापिसकेको बताए ।

उनले कक्षा ६, ७ र ८ को नयाँ कागज र नयाँ प्रिन्ट चार कलरमा छाप्ने भएकाले छपाइ प्रक्रिया शुरु भइसकेकाले अब तीन महिनाभित्र सबै पुस्तक छपाइ सकेर वितरण गर्ने बताए । उनले दुई चरणमा चालु पुस्तक छपाइ प्रक्रिया अब तीन चरणमा सञ्चालन गर्ने बताउँदै पुस्तक अभाव हुन नदिने बताए ।

अनुगमनमा मन्त्रीसहितको टोलीले रङ्गीन पुस्तक छपाइ, नयाँ उच्च प्रविधिको मेशिन, सुरक्षण मुद्रणालयको छपाइलगायत केन्द्रको भौतिक संरचनाको अनुगमन र जानकारी लिएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.