www.tandavnews.com
Fact ~ In search of truth

नयाँ अनुभवका लागि नेपाल भ्रमणःउड्डयनमन्त्री भट्टराई

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र यहाँ रहेका नेपालीलाई निमन्त्रणा गरेका छन् ।

भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय रुपमा आज अष्ट्रेलियमा औपचारिक शुभारम्भ गर्दै उनले जीवनको नयाँ अनुभवका लागि नेपालको भ्रमण गर्न सबैमा अनुरोध गरे ।

प्राकृतिक हिसाबले विश्वकै धनी देश नेपालमा भ्रमण गर्न आग्रह गर्दै उनले भने, ‘लाइफ टाईम एक्सप्रियन्सका लागि भ्रमणको निम्तो दिन चाहान्छु ।’ नेपालमा विशेष तयारीका साथ यस वर्षलाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको जानकारी दिँदै उनले नेपालको पर्यटकीय महत्वका बारेमा जानकारी दिएका थिए।

काठमाडौँ र अष्ट्रेलियाबीच सिधा उडानका लागि सम्झौता पछि कार्यान्वयनका लागि पहल भइरहेको भन्दै उनले दुई देशका बीचमा लामो समयदेखि कूटनीतिक सम्बन्ध रहेको बताए।आफ्नो मन्तव्यको शुभारम्भमा नै मन्त्री भट्टराईले डढेलोका कारण अष्ट्रेलियावासी जनतामा परेको समस्याप्रति दुःख व्यक्त गर्दै उनले मृतकहरुप्रति समवेदना प्रकट गरे ।

छिट्टै डढेलो नियन्त्रणमा आएर यहाँको जानजीवन सहज हुने पनि उनले विश्वास व्यक्त गरे । सो अवसरमा न्यू साउथ वेयल्स राज्य संसद्का सभामुख जोनाथन वडीले नेपाल सुन्दर रहेको भन्दै भ्रमणका लागि धेरैभन्दा धेरै अष्ट्रेलियावासी जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका सम्पूर्ण नेपालीहरुमा आनुरोध गरे । आफू र आफ्ना यहाँका नेपाली एवं अष्ट्रेलियन साथीहरुलाई भ्रमणका लागि नेपाल लैजान उनको आग्रह थियो ।

सो अवसरमा अष्ट्रेलियाका पक्ष र प्रतिपक्ष दल एवं काउन्सिलका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो । कार्यक्रम शुरु हुनुअघि सिड्नीको सर्कुलर क्येवमा मौन जुलुसमार्फत पर्यटन वर्षको प्रर्वद्धन पनि गरिएको थियो ।

अहिले सिड्नीमा नै यहाँका राजनीतिक दल, कूटनीतिज्ञ, पर्यटन व्यवसायी, व्यवसायी, गैरआवासीय नेपाली महासंघका विभिन्न तह र तप्कामा रहेका व्यक्तिको उपस्थितिमा भ्रमण वर्षका सम्बन्धमा छलफल एवं रात्रिभोज शुरु भएको छ ।

गत वर्ष अष्ट्रेलियाबाट ३३ हजार पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । यो सङ्ख्यालाई दोब्बरभन्दा बढी बनाउन राजदूतावास लागि परेको छ । गैर आवासीय नेपाली महासंघ र न्यू साउथ वेयल्सको महावाणिज्य दूतावासको सहयोगमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावासले कार्यक्रमको आयोजना गरेको हो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.