www.tandavnews.com
Fact ~ In search of truth

सप्तरीमा हात्ती आतंक

सप्तरी ।

सप्तरीको उतरी भेगका बस्तीमा दैनिक हात्ती आतंक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पार्ने गरेको पाइएको छ ।

पछिल्लो पटक जंगली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडफोड गरेको छ । मध्यरातमा आएको हात्तीले गाउँपालिका कार्यालयसँगै जोडिएको वडा नं २ मा १ र वडा नं ४ का २ घर गरी तीन घरमा तोडफोड गरी क्षति गरेको पीडितहरुले जनाएका छन् ।

Batas

तीन वटाको समूहमा आएको ती हात्तीले आक्रमण गरी चामल, तोरी, तरकारी दाल, फर्निचर, घर र तरकारीबाली गरी ६० हजार बढीको धन सम्पत्ति खाएर र कुल्चेर नष्ट गरेको जनाइएको छ । उनीहरुले घरमा खानका लागि जोहो गरेर राखेको अन्नपातसमेत हात्तीले खाइदिएको छ ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अझैसम्म हात्तीको आतंक नरोकिएपछि स्थानीयवासी दैनिक चिसोको बेला राति जाग्राम बस्नुपरेको पीडित बताउँछन् । पछिल्ला केही दिनदेखि लगातार जिल्लाको शम्भुनाथ नगरपालिका तथा अग्निसाइर कृष्णसवरन गाउँपालिकामा जंगलबाट आएको हात्तीको समूहले घर भत्काउँदा लाखौंँको क्षति भएको छ ।

जंगली हात्तीद्वारा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का दीपक खड्का र ४ का राजन पौडेल तथा टंक पौडेलको घरमा तोडफोड गर्दा घनमाल क्षति हुनुको साथै घरभित्र रहेको विभिन्न अन्न, चामल, धान, फर्निचर नष्ट गर्नुका साथै विभिन्न सामग्री कुल्चिएर तोडफोड गरेको पीडितहरुले बताएका छन् ।

हात्तीको समूहले शम्भुनाथ नगरपालिका–२ स्थित मोहम्मद सहादत मियाँका छोरा मो। हजरत मियाँ र मो.असरफ मियाँको घर भत्काई चामल, अन्न, धान, फर्निचर र घर भत्काई लाखौँंको क्षति गरेको छ ।

विचल्लीमा हात्तीपीडित

हात्तीको समूहले घर भत्काउँदा सप्तरीको रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा छ घरपरिवार अहिले विचल्लीमा परेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट सात वटाको समूहमा आएको जङ्गली हात्तीको समूहले रुपनी गाउँपालिकाका बालकृष्ण खुलाल मगर, सुरज राई, दिनेश राई, चतुरमान राई र अग्निसाइर कृष्णासवरन गाउँपालिकाका डुब्जसिंह तामाङको घर भत्काउँदा उनीहरु विचल्लीमा परेका हुन् ।

छ परिवारलाई हातमुख जोड्न समस्या भएको स्थानीयवासी मिलन चौधरीले बताए । एक दिन अगाडि मात्रै मध्यरातमा आएको हात्तीको समूहले घरभित्र रहेको टेलिभिजन, चामल, फर्निचर, लत्ताकपडा र दुई घरसहितमा तोडफोड गर्दा उनीहरु विचल्लीमा परेको स्थानीय बृजमान तमाङले बताए । हात्तीले दुई वटै घर भत्किएकोले छिमेकीको घरमा शरण लिएर बसेको पीडित बालकृष्ण खुलाल मगरले बताए ।

यस्तै चतुरमान राईको घरको टाटी भत्काउनुका साथै अन्नपात खाएर फर्निचर तोडफोड गर्दा ५० हजार भन्दा बढीको क्षति गरेको पीडितले बताए । हात्तीले दिनेश राई र सुरज राईको घरमा तोडफोड गर्दा ३० हजार भन्दा बढी क्षति गरेको स्थानीयवासीले जनाएका छन् ।

चिसोमा रात काट्न कठिनाई भइरहेको पीडितले दुःखेसो पोखेका छन् । विगत पाँच वर्षदेखि हात्तीले दिनहुँ दुःख दिँदासमेत कसैले नियन्त्रणमा चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । पटकपटक सम्बन्धित निकाय र सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको हात्ती प्रभावित क्षेत्रका बासिन्दा बताउँछन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.