www.tandavnews.com
Fact ~ In search of truth

हरेक वर्ष सहयोग बोकेर आउँछन ‘बेलायतबाट रक्षा’

सुशान्त गाहा मगर,
पोखरा/ताण्डव न्यूज ।

फूलहरुले गाँसिएका मालाहरु हात–हातमा । कलिला नानीबाबुहरु लामबद्ध अनि अभिभावकको साथमा । केही शिक्षकहरु ठाँटिएका टाईसुटमा । नीलो पोशाकका विद्यार्थीहरु दाताको स्वागतमा । बाक्लो उपस्थिति रहेको गाउँलेहरु ताली बजाउने आतुरमा । हेर्दा माहौल भव्य देखिन्छ ।

केही माथीको लेकहरुमा फुरफुर हिउँ झरिरहेछन् डाडाँहरु सेताम्मे बनिरहेछन् । यी दृश्यले मन प्रफुल्लित छ समाजसेवी रक्षा योञ्जन तामाङको अनि हर्षिद छिन् उनकी धर्मपत्नी सुमित्रा स्याङ्वो तामाङ । यता दातालाई स्वागत गर्न आतुर रहेका विद्यालय परिवार पनि नतमस्तक छन् ।

Batas

माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिँधिङ स्थित सरस्वती आधारभुत विद्यालयमा गत १८ गते समाजसेवी रक्षा तामाङको ईन्ट्री हुँदाको माहौल हो यो । विद्यालयका लागि सहयोग बोकेर उनी हरेक वर्ष बेलायतबाट नेपाल आउँछन् । तामाङले उक्त विद्यालयमा विगत लामो समयदेखी आर्थिक तथा शैक्षिक सामाग्री लगायतका सहयोग गर्दै आएका छन् । उनले एक दिन हुने कार्यक्रमबाट सयौं नमस्कार र धन्यवाद सहित स्थानिय अग्रजहरुको स्याबासी बटुल्छन् ।

सिँधिङमा जन्मिएर सोही विद्यालयमा कक्षा ४ सम्म अध्ययन गरेका उनी १८ वर्षमा बेलायती सेनामा भर्ती भए देखि विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उनको धोको थियो । स्व. पिता गणेश बहादुर तामाङ र स्व. माता ईस्माया तामाङको ठुलो कान्छो छोराका रुपमा जन्मिएका उनी अत्यन्तै सहयोगी रहेको स्थानीहरु बताउँछन् । रक्षाको गाउँलेहरु खुलेरै प्रशंसा गर्न पछि पर्दैनन् ।

बेलायतमै रिटायर्ड जिवन व्यतित गर्दै आएका ३ छोरी र १ छोराका पिता उनी पछिल्लो समय समाजसेवामा रमाएका छन् । समाजसेवी उनलाई प्रत्येक वर्ष सिँधिङ नआईपुगी सुखै हुदैन । गाउँ आएर मात्र उनलाई सन्तोष मिल्दैन विद्यालयमा सहयोग गर्नैपर्छ ।

रक्षाको सहयोग : ‘शैक्षिक सामाग्री, अक्षयकोष स्थापना देखी निजी स्रोतको शिक्षक सम्म’

जनजातिको बाहुल्यता रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिँधिङसँग उनको पीरती गाँसिएको छ । त्यसो त उनको बाल्यकाल त्यँही गाउँमा बितेको उनी स्मरण गर्छन । पहिलो पाठशालाका रुपमा सरस्वती आधारभुत विद्यालयमा भर्ना भै ‘ए देखी जेड र क देखी ज्ञ’ बाट बन्ने अक्षरहरु मात्र सिकेनन् कक्षा ४ सम्म उनले अध्ययन नै गरे । ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तरको अभाव पछि उनी पोखरा झरे । प्रमाणपत्र तह उत्र्तिण गरेपछि उनी सन् १९९५ मा बेलायती सेनामा भर्ती भएका थिए ।

आफुले आधारभुत शिक्षा पाएको विद्यालयको शैक्षिक गुणस्तर उकास्नमा सघाउ गर्ने सपना बुन्दै उनले १९ वर्षे लाहुरे जिन्दगी बिताए । पछिल्लो समय सोही सपना पुरा गर्न विगत लामो समय देखी उक्त विद्यालयमा आर्थिक देखी भौतिक सहयोग गर्दै आएको समाजसेवी तामाङले बताए । उनका अनुसार कुल १ सय २५ विद्यार्थी रहेको सो विद्यालयमा २०७१ सालमा विद्यालायलाई २ थान कम्प्युटर र प्रिन्टर सहयोग गरे ।

उनले २०७० साल देखी प्रत्येक वर्ष १ देखी ८ कक्षा सम्म अध्ययन गर्ने मध्येका १४ देखी २८ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष पोशाक तथा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु सहयोग गर्दै आएका छन् । ‘आधारभुत आवश्यकता आभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस भनेर यस्तो प्रकारको सहयोग गरेको हो, कुनै वर्ष १४ जना पनि हुन्छन् कहिले २०, कहिले २८ जना नै हुन्छन्, उनले भने, ‘मैले विगत २०७० साल देखी नै निरन्तर रुपमा सहयोग गर्दै आएको छु ।’

त्यस्तै उनले २०७३ सालमा १ लाख रुपैयाको रक्षा तामाङ अक्षयकोष स्थापना गरेको समेत बताए । उक्त अक्षयकोषको ब्याजबाट निकट भविष्यमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने लक्ष्य रहेको जानकारी दिए ।

उनले यस वर्षको सहयोग गत १८ गते एक कार्यक्रमका बिच हस्तान्तरण गरेको बताउदै शैक्षिक सामाग्री तथा निजी स्रोतबाट १ शिक्षक नियुक्ति गरेको बताए । विद्यालयमा शिक्षक अभाव भएकाले विद्यार्थीहरुको पढाई प्रभावित हुने हुदा गत १८ गते शिक्षिकाको रुपमा कल्पना भण्डारीलाई नियुक्ति गरेको जानकारी दिए ।

‘पाँच जनाले दरखास्त दिनुभएको थियो, उनले भने, ‘लिखित, मौखिक र अभ्यास परिक्षाबाट कल्पना भण्डारी चुनिनुभयो । उहाँको सबै सुविधा मैले ब्यहोर्ने छु ।’ उनले परिवर्तन हरेक क्षेत्रमा आवश्यक हुने बताउदै भने, ‘सहयोग मार्फत परिवर्तन गर्ने हो भने आफै बाट सुरु गर्नुपर्छ भनेर नै म समाजसेवामा लागेको हुँ ।’

स्याबास ! ‘रक्षा’

रक्षा योञ्जन तामाङले गरेको सहयोगको सिँधिङमा खुलेरै प्रशंसा हुन्छ । उनले स्याबासी मात्र पाएका छैनन् अरुका लागि समेत दरिलो उदाहरण बनेको सरस्वती आधारभुत विद्यालयका प्रध्यानाध्यपक शान्ती स्याङ्वो तामाङ बताउछिन् । उनले समाजसेवी रक्षाको गुणगान गाएपनि नसकिने बताउदै विद्यालय परिवार आभारी रहेको सुनाउछिन् ।

‘उहाँको सहयोग पहिलो देखीनै हो युके बसेपनि प्रत्येक वर्ष विद्यालयमा सहयोग गर्नै भनेर आउनुहुन्छ, तामाङ भन्छिन, ‘यो वर्ष त झन उहाँले १ जना निजी स्रोतको शिक्षिका समेत राख्नुभएको छ हामी अत्यन्तै खुशी छौ ।’ रक्षाको सहयोगले केही हदसम्म विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि भएको तामाङ बताउछिन् । रक्षा जस्तै अन्य व्यक्तिहरुले पनि विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नमा सघाउ गर्ने हो भने विद्यार्थीहरु बजार पढाईका लागि बजार नै जान नपर्ने प्रअ तामाङको तर्क छ ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप गौतम पनि रक्षा योञ्जन र परिवार प्रति आभारी रहेको बताउछन् । आफ्नो गाउँ विकासमा भुमिका खेल्नु आफैमा उदाहरणीय कार्य रहेको बताउदै अरुले समेत अनुसरण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्छन । यता आफ्नो छोरा छोरीको पठनपाठनका लागि शैक्षिक सामाग्री, पोशाक तथा अन्य सहयोगहरु प्रदान गर्नै आएको भन्दै अभिभावकहरु सिँधिङबासी हर्षित छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.