www.tandavnews.com
Fact ~ In search of truth

भ्रमण वर्षमा साहसिक पर्यटनमा वृद्धि हुने अपेक्षा

पोखरा ।

कतै चराझैं उड्ने त कतै डोरीमा बाँधिएर हामफल्ने, झट्ट सम्झदा कहाली लाग्छ । पछिल्ला समयमा यिनै साहसिक पर्यटनका हरेक गतिविधिमा रुचि राख्नेहरू पोखरा र आसपासका क्षेत्रमा फर्किफर्कि आउने गरेका छन् ।

भौगोलिक अवस्थितिका आधारमा पनि गण्डकी प्रदेशमा हुने पद्यात्रा, पर्वतारोहण, साइक्लिङ, क्यानोनिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, जीपलाइन, अल्ट्रालाइट, स्किइङ जस्ता हरेक गतिविधिले पर्यटकलाई लोभ्याउने गरेको छ ।

पोखराको सराङकोटबाट चराझै उडी फेवातालको किनारामा आइपुग्ने प्याराग्लाइडिङ होस् या सराङकोटबाट तारमा झुण्डिएर द्रुतगतिमा हेम्जासम्म झर्ने जीप लाइन आदि यहाँका हरेक गतिविधि स्वदेशी एवं विदेशी पर्यटकका आकर्षण बनेका छन् ।

नेपाल सरकारले भ्रमण वर्ष मनाइरहँदा र २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरिसकेको अवस्थामा यस क्षेत्रमा साहसिक पर्यटनमा रुचि राख्नेको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।

यहाँको कालीगण्डकी, मस्र्याङ्दीजस्ता नदीमा ¥याफ्टिङ गर्न आउनेको सङ्ख्या वर्षेनी बढ्दो छ । त्यस्तै कास्कीकै ल्वाङघलेल, स्याङ्जाको सुन्तलाबारी, बीरेठाँटीलगायतका स्थानमा सञ्चालित क्यानोनिङले वर्षेनी पर्यटकलाई आकर्षित गरेको छ ।

साहसिक पर्यटनकै लागि वर्षेनी पोखरामा ठूलो सङ्ख्यामा विदेशी पर्यटक आउने गरेको पर्यटन व्यवसायी साहसिक पर्यटन तथा खेलको राम्रो प्रचारप्रसार हुन सकेमा पर्यटकको चाप अझै बढ्ने बताउँछन् ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा यहाँका साहसिक पर्यटनका गतिविधिको प्रचारप्रसार गर्न सकेमा अझै पर्यटकको आगमन वृद्धि गर्न सकिने नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेश समितिका सदस्य सोम थापाले बताए ।

गण्डकी प्रदेशमा माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, लमजुङलगायतका हिमाल रहेका कारण यस ठाउँले पर्वतीय पर्यटनको धेरै सम्भावना बोकेको उनको तर्क छ । वर्षेनी ठूलो संख्यामा विदेशी पर्यटक यहाँका हिमाल हेर्नका साथै कतिपय हिमाल आरोहण गर्नका लागि पनि आउने गरेका छन् ।

हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा रहेकाले पनि यहाँको छुट्टै महत्व छ । सन् १९५० जुन तीन तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोेगले अन्नपूर्ण प्रथम सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।

आठ हजार ९१ मिटर उचाइको यो हिमाल आरोहण भएसँगै सन् १९५३ मे २९ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एड्मन्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।

गण्डकी प्रदेशको अर्को पर्यटकीय आकर्षण प्याराग्लाइडिङ हो । सराङकोटबाट प्याराग्लाइडिङ गरी फेवाताल किनारासम्म झर्नका लागि धेरै पर्यटक लालायित हुने गर्दछन् । गण्डकी प्रदेशकै स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सम्पन्न भइसकेको छ ।

गण्डकी प्रदेशमा नै अर्को साहसिक पर्यटन क्यानोनिङ (छागावरोहण) हो । हेर्दै डरलाग्ला चट्टानयुक्त पहराबाट डोरीको माध्यमबाट तल झरिने यो खेलका लागि पर्यटक इच्छुक बन्ने गरेका छन् ।

साहसिक पर्यटनकै रुचि राख्नेहरू पोखरा आइसकेपछि यहाँ सञ्चालित बञ्जी जम्प र जीप लाइनको अनुभव लिने गरेका छन् । माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाललाई आँखा अघि सजाउँदै जीप फ्लाई र बञ्जी जम्प गर्न चाहनेका लागि हाई ग्राउन्ड एड्भेन्चर्स नेपालले यी दुवै सुविधा उपलब्ध गराएको छ ।

अक्टोबर, नोभेम्बर र डिसेम्बरका साथै मार्च र अर्पिलको समयमा दैनिक ४० जनाको हाराहारीमा पर्यटकले बञ्जी जम्प र जीप लाइन गर्ने गरेको हाई ग्राउन्ड एडभेन्चर्स नेपालका प्रमुख सञ्चालन अधिकृत दीनेश महर्जनले जानकारी दिए ।

उनका अनुसार जीप फ्लाईका लागि विदेशी पर्यटकले आठ हजार ५०० तिर्छन् भने स्वदेशी पर्यटकले चार हजार ५०० रुपैयाँ तिर्छन् । त्यस्तै बञ्जी जम्पका लागि विदेशीले सात हजार ५०० रुपैयाँ र स्वदेशीले चार हजार रुपैयाँ तिर्ने गरेका छन् ।

सरकारले भ्रमण वर्ष मनाउँदै गरेका अवस्थामा साहसिक पर्यटनमा रुचि राख्नेको संख्या पनि वृद्धि हुने अपेक्षा गरिएको महर्जनले बताए । साहसिक पर्यटन अन्तर्गत नै यस प्रदेशमा हवाई खेलकूदका गतिविधिमा वर्षेनी आकर्षण बढ्दै गएको नेपाल हवाई खेलकूद संस्था गण्डकी प्रदेशका अध्यक्ष कृष्ण भण्डारीले बताए।

पोखराको सराङकोटबाट प्याराग्लाइडिङ गरी फेवाताल किनारमा झर्नका लागि पोखरा आउने अधिकांश पर्यटक लोभिने गरेको बताउँदै उनले पर्यटनको मुख्य याममा लगभग ५०० को हाराहारीमा उडान हुने गरेको जानकारी दिए ।

भ्रमण वर्ष मनाउँदै गरेका अहिलेको अवस्थामा प्याराग्लाइडिङलगायत साहसिक खेलका लागि आउने पर्यटकको संख्या पनि वृद्धि हुने अपेक्षा गरिएको भण्डारीले बताए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.