www.tandavnews.com
Fact ~ In search of truth

हिमागृह र रत्नमन्दिर प्रदेश र स्थानिय सरकारको परामर्शमा खोल्छौ : रक्षामन्त्री पोखरेल

सुशान्त गाहा मगर,
पोखरा ।

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लेकसाईड स्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको हिमागृह र रत्नमन्दिर गण्डकी प्रदेश र स्थानिय सरकारको परामर्शमा खुल्ला गरिने बताएका छन् ।

प्रेस सँगठन कास्कीले आज (बिहिबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका पोखरेलले छिट्टै खुला गर्ने बताएका हुन् । उनले कानुनसम्बद्द हिमागृह र रत्नमन्दिर खुला गर्ने धारणा राखे ।

मन्त्री पोखरेलले पूर्व देखी पश्चिम सम्म रहेको राजखानदानका जग्गाहरु जनताको हितमा रहनेगरी २०६४ सालमा ट्रष्ट ऐन बनेको उल्लेख गरे । पोखरेलले आय आर्जन हुने गरी शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवासायको क्षेत्रमा प्रयोग गर्न पाईने कानुनमा उल्लेख गरिएको बताए । ‘पूर्वमा धनकुटा र पश्चिममा सुर्खेत सम्म चल अचल सम्पत्ती छ’, उनले भने, ‘ट्रष्टको त्यो सम्पत्ती नेपालको कानुन अनुरुप शिक्षामा, स्वास्थ्यमा र पर्यटनको क्षेत्रमा आयआर्जन हुने हिसाबले जनताको अधिकतम हित हुने गरी प्रयोग हुन्छ ।’

मन्त्री पोखरेलले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी हिमागृह र रत्नमन्दिरको सदुपयोग हुनेमा विश्वास दिलाए । उनले स्थानिय सरकार र प्रदेश सरकारसँग परामर्श गरेर विद्यमान कानुन अनुसार टुङ्ग्याउने बताउदै भने, ‘तपाईले प्रश्न गर्नुभो भने मैले तिथि मिति भन्न सक्दिन तर आयआर्जन हुनेगरी यसको सदुपयोग हुन्छ ।’

मन्त्री पोखरेलले सीमा विवादको प्रसंगमा नेपालको १ ईन्च भुभाग पनि लेनदेन नहुने दाबी गरे । नेपालको भुभाग भारतले आफ्नो नक्शामा पर्नेगरी सार्वजनिक गरेको नक्शाप्रति आपत्ति जनाउदै समाधानको पहल सुरु भैसकेको बताए । उनले देशको भूभाग कसैलाई नदिने र कसैको नलिने उल्लेख गर्दै समाधानका लागि प्रकृया सुरु भैसकेको बताए ।

उनले सुघौली सन्धी अनुरुपनै सीमामा विश्वाश दिने बताउदै राष्ट्रियताको सवालमा सबै राजनैतिक दलहरु एकढिक्का रहेको उल्लेख गरे ।नेपाली ईतिहासमै पहिलो पटक सीमाको विषयमा डिप्लोम्याटिक नोट भारत सरकारलाई पठाएको बताउदै ऐतिहासिक अभिलेखहरु, तथ्य तथा प्रमाणहरु सीमा विवादको समाधान गर्ने बताए ।

‘विगतको तथ्यको आधारमा राष्ट्रियता, स्वाधिनता, स्वतान्त्रता र सार्वभौमतालाई महत्व दिने यो सरकारले यो काम गर्छ, उनले भने, ‘प्रकृया अघि बढिसकेको छ हामी पछि हट्दैनौ म तपाईहरुलाई यो विश्वास दिलाउन चाहान्छु ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.