www.tandavnews.com
Fact ~ In search of truth

बन्दीपुरमा एक लाख बीस हजार पर्यटक

तनहुँ ।

सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । स्वदेशी तथा विदेशी गरी एक लाख २० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेको बन्दीपुर पर्यटन विकास समितिले जानकारी दिएको छ ।

बन्दीपुर भ्रमण गर्नेमध्ये ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत विदेशी पर्यटक रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिए । उनका अनुसार यस अवधिमा ९० हजार स्वदेशी र ३० हजार विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन् । गत वर्ष पनि यही हाराहारीमै स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुर पुगेको समितिले जनाएको छ ।

विसं २०७२ को भूकम्पपछि प्रत्येक वर्ष बन्दीपुर घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । ‘भूकम्प गएको केही समय बन्दीपुर सुनसानजस्तै बन्यो, पर्यटकको चाप निकै कम थियो’, उनले भने, ‘अहिले बन्दीपुरमा पर्यटकको चाप राम्रो छ ।’ बन्दीपुरमा अमेरिका, थाइल्याण्ड, चीन, भारत, कोरिया र युरोपेली मुलुकका धेरै पर्यटक आउने गरेका छन् ।

बेमौसममा बन्दीपुरमा चिनियाँ पर्यटक अत्यधिक रहने गरेका छन् । बास नबसे पनि भ्रमणका लागि मात्रै आउने पर्यटकमध्ये चिनियाँ पर्यटक बढी रहने गुरुङले जानकारी दिए । हाल बन्दीपुरमा दैनिक ५०० भन्दा बढी पर्यटक भ्रमणका लागि आउने गरेका छन् ।

बन्दीपुरमा स्वदेशी तथा पर्यटकको आगमन बढ्न थालेपछि व्यवसायीले सुविधासम्पन्न होटल खोल्ने क्रम वृद्धि भएको छ । होटल व्यवसायीसमेत रहेका पर्यटन विकास समितिका अध्यक्ष गुरुङले हालै मात्र आठ करोडको लगानीमा होटल दरबार हिमालय सञ्चालनमा ल्याएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी हाल बन्दीपुरमा ९-१० होटल निर्माणाधीन अवस्थामा रहेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बन्दीपुरमा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँघर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत साना ठूला गरी ५७ होटल तथा २२ घरवास सञ्चालनमा छ । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलका बारेमा जानकारी दिने गरिएको छ । बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घरहरु भएकाले पनि विदेशीहरु आकर्षित हुने गरेका छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धवलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।

Lama collectio News Middle

यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जोकसैको मन लोभिने गर्दछ ।

बन्दीपुर घुम्न निम्तो

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बन्दीपुर गाउँपालिका, पर्यटन विकास समिति, क्षेत्रीय होटल संघले बन्दीपुर घुम्न निम्तो दिन देशका प्रमुख शहरमा कार्यक्रम गर्ने योजना बनाएको छ । नेपाल भ्रमण वर्ष २०२० मा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनासहित देशका प्रमुख शहरमा माघ महिनामा कार्यक्रम गरी बन्दीपुर घुम्न निम्तो दिइने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

पर्यटन प्रर्वद्धनका लागि बन्दीपुरमा दौड

नेपाल भ्रमण वर्षको अवसर पारेर बन्दीपुर गाउँपालिकाले दौड प्रतियोगिताको तयारी गरेको छ । पर्यटकीय नगरीको रूपमा परिचित बन्दीपुरको पर्यटन प्रर्वद्धन गर्दै भ्रमण वर्षको प्रचारका लागि गाउँपालिकाले दौड प्रतियोगिताको तेस्रो संस्करण आयोजना गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र बन्दीपुरको पर्यटनलाई विश्वमाझ चिनाउन दौड प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । माघे सङ्क्रान्ति पर्वको अवसर पारेर माघ १ गते दौड प्रतियोगिता हुँदैछ । थापाले भने, ‘दौडले व्यक्तिको शारीरिक विकासको साथसाथै बन्दीपुरको पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास गरेका छौँ ।’

गाउँपालिका वडा नं १ डुम्रे बजारदेखि वडा नं ४ टुँडिखेलसम्मको आठ किमी दूरीको दौडमा आन्तरिक र खुला धावक सहभागी हुन सक्नेछन् । आन्तरिकतर्फ गाउँपालिकाभित्र बसोबास गर्ने धावकलाई सहभागी गराइने र खुलामा देशभरका धावक सहभागी हुन सक्नेछन् ।

खुलातर्फको दौडमा प्रथम र द्वितीय हुनेलाई क्रमशः  ३० हजार र  १५ हजार साथै आन्तरिकतर्फको दौडमा प्रथम र द्वितीय हुनेलाई क्रमशः १५ हजार र सात हजार नगद प्रदान गरिने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । आन्तरिक र खुला गरी करीब २०० धावक सहभागी हुने अनुमान गरिएको छ । गत वर्ष आयोजित प्रतियोगितामा ९० धावकले सहभागिता जनाएका थिए ।

‘खेलकूदको माध्यमबाट पनि बन्दीपुरमा पर्यटक भित्र्याउन प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा दौड प्रतियोगितालाई निरन्तरता दिन्छौँ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले भने । प्रतियोगिता सम्पन्न गर्नका लागि करीब चार लाख खर्च हुने अनुमान छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop