www.tandavnews.com
Fact ~ In search of truth

अध्यक्ष दाहालद्वारा कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

सो पार्टीद्वारा धुम्रबराहस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गरेका हुन्।

Batas

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नुभएका नेता मोहन कार्की ‘जीवन्त’ र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन, म समयमै एकीकृत हुन आग्रह गर्दछु ।’

अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको भन्दै उनले अब कम्युनिष्टबीच एकताको विकल्प नरहेको बताए । अध्यक्ष दाहालले भने, ‘विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा गर्दैन ।’

अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी र नेकपा एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताए ।

नेता ‘जीवन्त’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर आफूहरु पार्टी प्रवेश गरेको प्रष्ट पारे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.