www.tandavnews.com
Fact ~ In search of truth

रिडीमा बाढी : व्यवसायी विस्थापित, रुरु महोत्सव प्रभावित

गुल्मी । 

गत बुधबार रातिदेखि परेको वर्षाका कारण गुल्मीको रुरु महोत्सव प्रभावित बनेको छ । वर्षाका कारण रिडी खोलामा बाढी आएसँगै रिडीको रुरु महोत्सवमा बगर छेउमा बनाइएका ३४ वटा होटलका अस्थायी टहरामा समेत बाढी पसेको छ ।

होटलका टहरामा बाढी पसेपछि व्यवसायी विस्थापित बनेका छन् । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा व्यवसायीका सामानलाई टहराबाट हटाएर सुरक्षित स्थानमा सारिएको महोत्सव आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले जानकारी दिए ।

Batas

रिडी खोलामा बाढी आएसँगै मेलामा वारपार गर्नका लागि खोला तर्न बनाइएको काठको अस्थायी पुलसमेत बगाइदिएको छ । रिडीको माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखा र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा रुरु क्षेत्र गाउँपालिकाअन्तर्गत रिडीमा दोस्रो रुरु महोत्सवको आयोजना गरिएको हो ।

माघ ९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव वर्षाका कारण बिहीबार दिनभर सुनसान बनेको थियो भने शुक्रबार पनि महोत्सव सुनसान बनेको छ । मेलामा व्यापारका लागि आएका कतिपय व्यवसायी वर्षाका कारण आफ्ना सामान लिएर त्यत्तिकै घर फर्कन बाध्य बनेका छन् ।

पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा माघे सङ्क्रान्तिको अवसरमा तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । तर, यस पटक लगातारको झरी र अत्यधिक चिसोका कारण मेला प्रभावित बनेको हो । दुई दिनदेखिको वर्षाका कारण गुल्मी जिल्लाको जनजीवन प्रभावित बनेको छ । लगातारको झरी र चिसोका कारण मानिस अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् । वर्षाका कारण सडक चिफ्लो भएपछि जिल्लाका चार दर्जनभन्दा बढी ग्रामीण सडकमा सवारी साधनसमेत सञ्चालन हुनसकेका छैनन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.