www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमी वायु प्रभाव : पोखरामा २३ मिमि वर्षा, शनिबारदेखि क्रमिक सुधार

काठमाडौँ । 

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । शनिबारदेखि मौसममा क्रमिक सुधार आउने उनको भनाइ छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी युक्त विशेष बुलेटिन जारी गर्दै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमताको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Batas

काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । उपत्यकामा अहिले पनि वर्षा भइरहेको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षातसँगै मौसम बदलीका कारण आज काठमाडौँमा बढी चिसो महसुस गरिएको छ । नेपालको पश्चिमी मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा २१ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ३९, दाङ्मा २७, पोखरामा २३, वीरेन्द्रनगरमा २४, नेपालगञ्जमा १०, डडेल्धुरामा आठ, धनगढी र दिपायलमा समान सात मिलिमिटर वर्षा भएको छ । काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम १४ दशमलव नौ मिलिमिटर वर्षा भएको छ ।

यसैबीच महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर आज देशभार सामान्यदेखि पूर्ण बदली रहने तथा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पनि सोही मौसमी प्रक्रिया रहने जनाइएको छ । आइतबार देशका पहाडी भूभागमा आंशिक बदली भई पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.