www.tandavnews.com
Fact ~ In search of truth

दैलेखमा भत्काइए २४१ छाउगोठ

दुल्लु । 

गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका जिल्लाकै बढी ११२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।

Batas

त्यसैगरी भैरवी गाउँपालिकामा ५८, दुल्लु नगरपालिकामा १३, गुराँस गाउँपालिकामा तीन, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० र अन्य स्थानीय तहमा गरी २४१ छाउ गोठ भत्काइएको उनले जानकारी दिए । जिल्लामा सामाजिक कु–संस्कारका रूपमा व्याप्त प्रथा उन्मूलनका लागि स्थानीय प्रशासनले कडाइका साथ काम गरेको भए पनि मनको छाउ नभत्केको नारायण नगरपालिका– १ दैलेखका समाजसेवी मनोज थापा बताउछन् ।

पहिलो चरणमा ११ वटै स्थानीय तहमा छाउपडी उन्मूलनसम्बन्धी अन्तक्र्रिया र छलफल गरिएपछि दैलेखमा छाउगोठ भत्काउने अभियान थालिएको हो । छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका छन् । तर पश्चिमको ठाटिकाँध गाउँपालिका, पूर्वको भगवती गाउँपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिकामा छाउगोठ भत्काइएको छैन ।

ठाटिकाँधमा छुट्टै छाउगोठ नभएका घरकै गाई गोरु बाँध्ने ठाउँमा महिनावारी भएका महिला बस्ने गरेकाले गोठ भत्काउँदा घर भत्किने हुनाले गोठ नभत्काइएको प्रहरी निरीक्षक साउदले बताए। छाउगोठ भत्काउन बाँकी रहेका महाबु, भगवती, नौमूले र डुगेश्वर गाउँपालिकामा उस्तै समस्या भएको प्रहरी निरीक्षक साउदको भनाइ छ ।

दैलेखको पश्चिम नौमूले गाउँपालिकामा छाउप्रथा नरहेको र नौमूलेको सल्लेरीका केही ठाउँमा रहेको हुँदा त्यस क्षेत्रमा गाउँपालिकाबाट जनचेतनामूलक कार्यक्रम गरिने उपाध्यक्ष अमृता सिंहले बताइन् । जिल्लाका अधिकांश बस्तीमा महिनावारी हुँदा बस्न छुट्टै छाउगोठ छैनन् । उनीहरू गाई भैँसीसँगै गोठमा बस्ने गरेका छन् । महिनावारी हुँदा गाईभैँसी बाँधेकै ठाउँमा बस्ने महिलाको सङ्ख्या जिल्लामा अत्याधिक छ ।

दुई मृत्यु

गत वर्ष छाउघरमै बसेका कारण सर्पले टोकेर चामुण्डाविन्द्रासैनी नगरपालिकामा गएको वर्ष दुई जना महिलाको छाउगोठमै बसिरहेका बेला मृत्यु भएको थियो । यो अभियानभन्दा अगाडि विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले छाउगोठ भत्काउनाका साथै केही स्थानीय तहलाई छाउपडीमुक्त घोषणा गरिएको थियो । स्थानीयवासीमा जनचेतना नजगाइ छाउगोठ भत्काइए पनि पुनःमहिला नछुने भएका बेला छाउगोठमा बस्दै आएका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.