www.tandavnews.com
Fact ~ In search of truth

प्रविधियुक्त बन्दै भन्सार प्रणाली

काठमाडौं ।

आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने भएको छ ।

भन्सार विभागले ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिने बताए ।

भन्सार सुधार तथा आधुनिकीकरण गर्न त्यससम्बन्धी नीति, कानून बनाउन प्रक्रिया अगाडि बडाइएको जानकारी दिँदै उनले व्यापार सहजीकरणमा खास नीतिको सरलीकरण, एकीकरण र व्यापार प्रक्रियामा सुधार भइरहेको बताए । यही माघ १२ गते ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवस हो ।

व्यापार सहजीकरणका लागि भारत, चीन र बङ्गलादेशसँग द्विपक्षीय संयन्त्र क्रियाशील छन् । यस्ता संयन्त्रले सीमावर्ती भन्सारमा नीतिगत एकरुपता सहजीकरण, सूचना आदानप्रदान र समन्वयको काम गरिरहेका छन् ।

चीनसँग भन्सार सहयोग सम्झौता सम्पन्न भएको छ भने भारतसँग यस्तो सम्झौता हुने प्रक्रियामा छ । भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा भन्सार व्यापार सहजीकरण समिति केन्द्रमा क्रियाशील रहेको छ । निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीच समन्वय गरिरहेको जनाइएको छ ।

पाँचौँ चरणको भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्ययोजना कार्यान्वयनमा छ । भन्सार विन्दुमा करिब ४२ प्रतिशत हरियो र पहेँलो मार्गबाट र बाँकी ५८ प्रतिशत रातो मार्गबाट जाँचपास भएको छ । रातो मार्ग भौतिक परीक्षण हुने जाँच प्रणाली हो ।

पूर्वाधार विकास निर्माण र सुधारमा भन्सार क्रियाशील रहेको र विभागले कूल राजश्वको करिब ५० प्रतिशत राजश्व संकलन गर्दै आएको बताइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.