www.tandavnews.com
Fact ~ In search of truth

निर्माणाधिन पोखरा विमानस्थलसहित दश विमानस्थलको सरसफाइ सम्परीक्षण

काठमाडौं ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको सम्परीक्षण (अडिट) गर्ने भएको छ ।

विदेशी पर्यटकको पहिलो नजर पर्ने र देशको अवस्थालाई झल्को दिने देशको ऐनाका रुपमा रहेको विमानस्थलको सरसफाइलाई प्रभावकारी बनाउन सरोकारवाला संस्थासँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको मौजुदा सरसफाइको अडिट गर्न लागेको हो ।

उक्त प्रयोजनका निम्ति पर्यटनमन्त्रीको उपस्थितिमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग छलफलपछिको निर्देशनबमोजिम यही माघ ८ गते विमानस्थलको सफाइ अडिट गर्ने सम्झौता भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौताअनुरुप पर्यटन मन्त्रालय र गैरआवासीय नेपाली संघबीच स्वयंसेवीका रुपमा १० विमानस्थलको स्थलगत भ्रमण गरी ती स्थानमा हालको सरसफाइको अवस्थाको अडिट गरी र तोकिएको समयभित्र मन्त्रालयसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।

आगामी फागुन २० देखि चैत १९ सम्म (एक महिनाभित्र) मन्त्रालयलाई सरसफाइ अडिट प्रतिवेदन बुझाउने सम्झौतामा उल्लेख छ । विमानस्थलमा विद्यमान सरसफाइको मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा भावी दिनमा विमानस्थललगायत अन्य सांस्कृतिक तथा पर्यटकीयस्थलमा समेत सरसफाइलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।

मुलुकका व्यस्त ठूला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय)सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, भरतपुर विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज विमानस्थल र धनगढी विमानस्थलको सरसफाइ अडिट गरिने विज्ञप्तिमा उल्लेख छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.