www.tandavnews.com
Fact ~ In search of truth

महिलालाई निर्णयसहितको अधिकार दिनुपर्नेमा जोड

पोखरा ।

पोखराका पर्यटन व्यवसायी महिलाले व्यवसायमा आफ्नो भूमिका खोजी गर्दै छलफल चलाएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आज आयोजना गरेको ‘पर्यटन व्यवसायमा महिला अवसर र चुनौती’ विषयक अन्तरक्रियामा व्यवसायी महिलाले व्यवसायलाई सफल बनाउन कसरी अगाडि बढ्ने र व्यवस्थापकीय जिम्मेवारी कसरी बहन गर्ने भन्ने विषयको छलफलमा जुटेका हुन् ।

मिडिया एड्भोकेसी ग्रुपका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार बबिता बस्नेतले सामाजिक रुपान्तरणमा अग्रसर महिलाले पछिल्लो समय व्यवसायमा सफल हुँदै गएको धारणा राखे । उनले व्यवसायमा महिला आउँदा सामाजिक संरचनालाई झन् बलियो बनाएर आर्थिक समृद्धिको आधार बनाउने भएकाले निर्णयसहितको अधिकार महिलालाई दिनुपर्नेमा जोड दिए ।

होटल ल्यान्डमार्कका सञ्चालक एवं संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले व्यवसायमा आबद्ध महिलाले आफ्ना कतिपय समस्या राख्ने फोरम नहुँदा सानासाना कुरालाई पनि मनमा नै राख्दा मानसिक समस्यासमेत भोग्नु परेको बताए ।

संस्थाका सल्लाहकार पर्यटन व्यवसायी दुर्गा देवकोटाले अन्तरक्रिया कार्यक्रमले महिलाले जीवन भोगाइका विषयवस्तुसँगै व्यावसायिक क्षेत्रका विभिन्न सवालका विषयमा बुझ्ने अवसर मिलेको बताए ।

‘आर्थिक विकासका लागि पर्यटन व्यवसाय महिला’ भन्ने नारासहित स्थापित महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०ले सदस्यहरुको क्षमता विकासका लागि विभिन्न तालीम प्रदान गर्दै आइरहेको मञ्चका अध्यक्ष जमुना पराजुलीले बताए ।

पर्यटन व्यवसायी शर्मिला न्यौपाने, सावित्री तिमिल्सिना, सुन्ती पुर्जा लगायतले महिला मैत्री वातावरणको अभाव र अझै पनि महिलाको क्षमतामाथि विश्वास गर्ने संस्कृतिको विकास हुन नसकेको धारणा राखे ।

उनीहरुले आफ्नो जीवन भोगाइसँगै व्यावसायिक चुनौतीका बारेमा आफ्नो अनुभव राखेका थिए । कार्यक्रममा ४० पर्यटन व्यवसायी महिलाको सहभागिता रहेको सहसचिव ममता न्यौपानेले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.