www.tandavnews.com
Fact ~ In search of truth

६७ औँ कुष्ठरोग दिवसःनिर्धक्क खुल्न सकेनन् कुष्ठरोगी

तनहुँ ।

नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् ।

पूर्वाग्राही शक्ति, कुशासन र विभेद्का कारण रोगी घृणित हुने गरेकाले कुष्ठरोगीलाई समाजमा खुल्ला वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौति रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका क्षयकुष्ठ अधिकृत रेकबहादुर थापाले बताए ।

Batas

‘कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेबाटै कुष्ठरोगी अपहेलित भइरहेको छन्,’ उनले भने, ‘यसप्रति सकारात्मक सचेतना फैलाउन आवश्यक छ ।’

कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाई अन्यत्रैको स्वास्थ्य संस्थामा गएर औषधि सेवन गर्ने प्रचलन कायम रहेको उनले बताए । ‘नजिकको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय व्याप्त छ’, उनले भने, ‘त्यस्तो भयलाई हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ ।’

छ महिना र एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकाले कुष्ठरोगीलाई ठूलो रोगका रुपमा लिननहुने स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । ‘खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म पुर्याउने वातावरण सिर्जना गर्नुपर्छ,’ अधिकारीले भने ।

उनका अनुसार कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार तथा समुदायमा रोगका बारेमा सही जानकारी दिने र प्रचारप्रसार अभियान सञ्चालन गरिएको छ ।

तनहुँमा ११ कुष्ठरोगका बिरामी

जिल्लामा हाल एघार कुष्ठरोगका बिरामीले उपचार सेवा लिइरहेका छन् । गत आर्थिक वर्षमा १० कुष्ठरोगका बिरामी रहेकामा चालु आर्थिक वर्षमा दुई जना नयाँ बिरामी थपिएका क्षयकुष्ठ अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार एक जना बिरामी भने नियमित औषधि सेवनपछि निको भएका छन् ।

हाल व्यास नगरपालिकामा नौ, बन्दीपुर गाउँपालिका एक र शुक्लागण्डकी नगरपालिकामा एक जना सर्ने कुष्ठरोगका बिरामी छन् । जसमध्ये छ महिला र पाँच पुरुष रहेका कार्यालयले जनाएको छ । शुक्लागण्डकीका एक पुरुष भने औषधि सेवनपछि निको भएका छन् ।

सरकारले कुष्ठरोगमुक्त नेपाल बनाउने अभियान अन्तर्गत सबै जिल्लामा कुष्ठरोगको प्रकोप दरप्रति दश हजार जनसंख्यामा एकभन्दा कम गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष ०७५-७६ मा नेपालमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी फेला परेका थिए । त्यसमध्ये १४ वर्षमुनिका बिरामी ३३७ रहेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.