www.tandavnews.com
Fact ~ In search of truth

बढी आय हुने क्षेत्रमा बढी राजश्व:अर्थमन्त्री खतिवडा

काठमाडौं ।

सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी आम्दानी हुने क्षेत्रमा ध्यान केन्द्रित गर्ने स्पष्ट पारेका छन् ।

अर्थमन्त्री डा .युवराज खतिवडाले ७८औँ भन्सार दिवसका अवसरमा राजश्वको लक्ष्य पूरा गर्न अनावश्यक रुपमा सरकार नलाग्ने तर नियम कानूनको कार्यान्वयनमा भने कडा रुपमा प्रस्तुत हुने बताएका हुन् । उनले सरकार नियमसंगत तरिकाले नै अगाडि बढ्ने र कोही कसैलाई पनि दुःख दिने पक्षमा नरहेको स्पष्ट पारे ।

Batas

राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व भएको उल्लेख गर्दै उनले कोही कसैलाई दुःख दिने भन्दा सरकारले नीतिनियम र कानूनमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने बताए ।

सरकार भन्सार राजश्वभन्दा पनि आन्तरिक राजश्व उठाउनेतर्फ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो आन्तरिक राजश्व उठ्ने क्रम राम्रो छ, अन्तःशुल्क, भ्याट र आयकरको संकलन राम्रो छ ।’

उनले व्यवसायीलाई विकृति हटाउन र सामानको गुणस्तरमा समेत ध्यान दिन आग्रह गर्दै तत्काल नै भन्सारको महसुल दर घटाउन नसकिने उल्लेख गरे । अर्थमन्त्री खतिवडाले आगामी दुई वर्षभित्रै नेपालको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने र कुनै कागजी काम नहुने बनाउने योजनामा सरकार लागेको जानकारी दिए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिएको र त्यसले राजश्व संकलनदेखि व्यावहारिक समस्यासमेत समाधान भएको बताए ।

भन्सारलाई आधुनिकीकरणका लागि नीतिगत सुधारको प्रक्रिया पनि सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै उनले प्राविधिक, संरचनागत एवम् कानूनी सुधारले व्यावसायिक क्षेत्रलाई थप सहज हुने धारणा राखे ।

हरेक वर्ष जनवरी २६ लाई विश्वभर अन्तर्राष्ट्रिय भन्सार दिवसका रुपमा मनाउने गरिएको छ । विभागले कूल राजश्वको करीब ५० प्रतिशत राजश्व संकलन गर्दै आएको तथ्यांक छ ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिमूलक संघ संस्थाका प्रतिनिधिले भन्सार प्रशासन सुधारोन्मुख रहे पनि त्यसको अनुभूति गर्न नपाएको गुनासो गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिले भन्सार प्रशासनमा उल्लेख्य मात्रामा सुधार गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भन्सारमा सामानहरुको वर्गीकरण र मूल्यांकनमा समस्या रहेको गुनासो गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतीशकुमार मोरले ‘बल्क’ कार्गो आयातमा देखिएको समस्या निराकरण गर्न आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई व्यवसायीमैत्री बनाउन र कारोवार बैंकिङ प्रणालीमा हुने वातावरण बनाउन सुझाव दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.