www.tandavnews.com
Fact ~ In search of truth

पाल्पामा वन्यजन्तुको तथ्यांक संकलनः दश चितुवा भेटिए

पाल्पा ।

पाल्पाको माथागढी गाउँपालिकाले पशुपक्षीसँगै वन्यजन्तुको तथ्यांक संकलन गर्न थालेको छ ।

गाउँपालिका क्षेत्रभित्र पाइने पशुपक्षी तथा वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग गर्न गाउँपालिकाले तथ्यांक संकलन गर्न थालेको हो । प्राप्त प्रारम्भिक तथ्यांकमा चितुवा, बाँदर, वनकुखुरा, ढुकुर, मृगलगायतका वन्यजन्तु ठूलो मात्रा रहेको देखिन्छ । गाउँपालिकाको अधिकांश वन क्षेत्रमा बाँदर, मृग र स्याललगायतका वन्यजन्तु सबैभन्दा बढी रहेको देखिएको हो ।

गाउँपालिका क्षेत्रभित्रका कुन–कुन वन्यजन्तु, कहाँ कति मात्रामा रहेका छन् भन्ने विवरण गाउँपालिकाको वस्तुगत विवरण २०७६ मा ल्याउन लागेको हो । गाउँपालिकाले वडागतरूपमै वन्यजन्तुको तथ्यांक समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापामगरका अनुसार यो तथ्यांक प्रारम्भिक रहेकाले यसलाई अझै पूर्णता प्रदान गरिने बताए ।

स्थानीय बासिन्दा, वन समूह, वन कार्यालय तथा विभिन्न संघसंस्थाको सहयोगमा वन्यजन्तुको तथ्यांक संकलन गरिएको गाउँपालिका अध्यक्ष थापामगरको भनाइ छ ।

माथागढी गाउँपालिका–१ चिदीपानीको वन क्षेत्रमा चितुवा रहेको छ । यस वन क्षेत्रमा १० सानो चितुवा, ५० मृग, ५०० कालिज, २०० ढुकुर रहेका छन् । सामुदायिक वन क्षेत्रमा तित्रा, जुरेला, खोलेहाँस, दुम्सीलगायतका वन्यजन्तु रहेका छन् ।

माथागढी गाउँपालिका–३ को सरापकोट, सिलाङ्दी वनमा तित्रा ३००, बाथ ६ मा वनबाख्रा २०, ढुकुर ६० रहेका छन् । वडा नं ५ मा बाँदर ४००, कालिज लुइँचे १००, स्याल ५० रहेका छन् । माथागढी गाउँपालिका–७ रहबासको वन क्षेत्रमा बाँदर र स्याल गरी नौ हजार, मृग वन बिरालो दुई हजार, कालिज लुइँचे दुई हजार, ढुकुर कोइली आठ हजार रहेको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

माथागढी गाउँपालिकाकै ८ नं वडा बहादुरपुरको वन क्षेत्रमा प्रशस्त मात्रामा वन्यजन्तु रहेको उल्लेख छ । यहाँको राहुलखोलामा २०० स्याल, पिपलडाँडा वन क्षेत्रमा मृग ५०, थपना पहाडमा बादर ५००, दुम्सी ७५, खरायो १५०, कालिज १७५, लुइँचे १००, तित्रा १९०, सुगा २०० समेत रहेका छन् ।

माथागढीको वडा नं २, ४, ६ मा वन्यजन्तुको तथ्यांकले पूर्णता पाउन सकेको छैन । यस क्षेत्रमा साना चितुवा हिँडिरहेको स्थानीय बासिन्दाले देखे पनि तथ्यांकमा ल्याउन सकिएको छैन । सामुदायिक वन संरक्षण हुन थालेपछि यहाँका वनमा वन्यजन्तु पनि संरक्षण हुँदै आएका छन् । स्थानीय बासिन्दाले वन क्षेत्र संरक्षण र चोरी शिकारीमा निगरानी बढाए पनि लोपोन्मुख वन्यजन्तुसमेत संरक्षण हुन थालेको हो ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख डा मोहन पौडेलले वन्यजन्तु संरक्षणका लागि स्थानीय बासिन्दालाई सचेत बनाउन अन्तक्रिया कार्यक्रम, होर्डिङबोर्डका कार्यक्रम रहेको बताए । उनले वनजङ्गल क्षेत्रमा घाइते अवस्था रहेका वन्यजन्तुको उद्वार गरी वन क्षेत्रमै छाड्ने काम हुन्छ । वन्यजन्तुको चोरी शिकारी हुँदा ऐनअनुसार कारवाही हुन्छ । समुदायले वन रेखदेख गर्न थालेपछि वन्यजन्तु बाक्लो मात्रामा देखिन थालेका छन् ।

वन क्षेत्रबाट चोरी शिकारी कडाइले वन्यजन्तु बस्ती नजिकै देखिएका हुन् । सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रको अगुवाइ गर्न थालेपछि नाङ्गाडाँडा हराभरा हुँदै त्यस क्षेत्रमा वन्यजन्तु देखिन थालेको हो ।

बस्ती नजिक वन्यजन्तु आउँदा स्थानीय बासिन्दा भने त्रसित छन् । जिल्लामा सामुदायिक वनका रुपमा समितिलाई व्यवस्थित गर्न थालेपछि लोपोन्मुख वन्यजन्तुसमेत देखिन थालेको स्थानीय बासिन्दाको भनाइ छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.