www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

तनहुँ ।

चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे ।

मृतक बालकको घरमा पुगेर आमा पवित्रा सुनारलाई राहत रकम प्रदान गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए। चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई राहतस्वरुप १० लाख उपलब्ध गराइनेछ ।

गाउँमा भएको छेवरको भोज खाएर फर्कने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो । आमासँगै रहेका बेला चितुवाले बालकलाई झम्टेर लिएर गएको थियो । घर नजिकै पुग्ने बेलामा चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा ८० मिटर तल खोल्सामा फेला परेको थियो ।

चितुवाको आक्रमणबाट तनहुँमा २० महिनाको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ । यसअघि चितुवाको आक्रमणबाट भानु नगरपालिकामा छ, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने नीति रहेको छ ।

यसअघि मृत्यु भएका सबै बालबालिकाका परिवारलाई राहत रकम प्रदान गरिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.