www.tandavnews.com
Fact ~ In search of truth

पाँच वर्षमा अपराधका मुद्धा ६५ प्रतिशतले वृद्धि

चितवन ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज चितवनमा शिलान्यास गर्दै उनले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताए ।

पाँच वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उनले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा हरेक वर्षमा दुई हजारभन्दा बढी फौजदारी मुद्दा दर्ता हुने गरेकाले ती जिल्लामा सह–न्यायाधिवक्ता राख्नुपर्ने उनको भनाइ थियो । एक सय ५० वटा मुद्दालाई हेर्न एकजना सरकारी वकिल चाहिने भए पनि त्यसअनुरुपको जनशक्ति अभाव रहेको उनले बताए ।

उजुरी परेपछि तत्काल पक्राउभन्दा पनि अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने उनको धारणा थियो । कारागार व्यवस्थित हुन नसक्दा त्यहाँ बस्नेको जीवन कष्टकर हुने गरेको भन्दै उनले यसलाई सुधार गृहको रुपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले न्याय सम्पादन छिटो र छरितो हुनुपर्नेमा जोड दिए । सो अवसरमा नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल, जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावल, जिल्ला अदालत बार एशोसिएशन चितवनका अध्यक्ष कमल पाठकलगायतले बोलेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय भवन निर्माणका लागि ललितपुरको हनुमान कन्ट्रक्सनसँग सम्झौता भएको छ । सो कम्पनीले चार करोड ९८ लाख ७१ हजानर १४१ मा बोलपत्र सकार गरेको हो ।

विसं २०७८ मंसिर १८ गतेसम्ममा भवन सम्पन्न गर्नुपर्ने हुन्छ । साढे तीन तले अपांगमैत्री भवनमा २४ कोठा हुनेछन् । थुनुवा कक्ष, बयान कक्षसहितको सो भवनमा छ जना सरकारी वकिल रहन सक्ने गरी कोठा व्यवस्थापन गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.