www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री कपमा लम्जुङ च्याम्पियन, कास्कीका सुमित बने सर्बाेत्कृष्ट खेलाडी

सुशान्त गाहा मगर,

ताण्डव न्यूज /पोखरा ।

अखिल नेपाल फुटबल सँघ (एन्फा) गण्डकी प्रदेश कमिटीको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा सम्पन्न ‘प्रथम गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबल’ प्रतियोगितामा लमजुङको त्रिवेणी क्लब च्याम्पियन बनेको छ ।

Batas

पोखरा महानगरपालिका–२९ भण्डारढिक स्थित आदर्श युवा क्लबको घरेलु मैदानमा मंगलबार भएको फाईनल खेलमा २–० गोलले कास्कीलाई पराजित गर्दै लम्जुङ च्याम्पियन बनेको हो ।

लम्जुङको जितमा पहिलो हाफको १५ औं मिनेटमा अस्मिन गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिफेन्डर र गोलरक्षक विट भईसकेको बललाई गुरुङले पहिलो बार च्याप्दै फ्लिक गरिदिए ।

त्यस्तै दोस्रो हाफको ४९ औं मिनेटमा लम्जुङको लागि नवराज गुरुङले निर्णायक गोल गर्दै घरेलु टिमलाई दबाबमा राख्यो । घरेलु टिम कास्कीका गोल रक्षक विश्वास क्षेत्रीले पन्चिङ गरेको रिवण्ड बललाई फष्ट सर्टमै प्रहार गर्दै बललाई पोष्टको दिशा दिलाए ।

यता आदर्श क्लबले पाएको राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा कास्कीमै उपाधि रोक्न सकेन । उक्त फाईनल खेलबाट लम्जुङका गोलरक्षक आकाश रानाभाट म्यान अफ दि म्याच घोषित भए ।

गण्डकी प्रदेश स्तरिय प्रथम लिग च्याम्पियन बनेको लम्जुङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५ लाख प्राप्त गर्याे । त्यस्तै उपबिजेता बनेको कास्कीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३ लाखमा चित्त बुझायो ।

विधागत तर्फ प्रतियोगिताबाटै सर्बौत्कृष्ट खेलाडीको रुपमा कास्कीका सुमित श्रेष्ठ घोषित भए । त्यसैगरी उनी उत्कृष्ट मिडफिल्डरको हकदार समेत बन्दै पुरस्कृत बने । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक लम्जुङका आकाश रानाभाट, उत्कृष्ट डिफेण्डरमा सोही क्लबकै अन्जन देवकोटा र सोहि टिमकै नवराज गुरुङ उत्कृष्ट फरवार्ड घोषित भए ।

त्यस्तै प्रतियोगितामा सर्वाधिक ४ गोल गर्दै लम्जुङका नवराज गुरुङ र कास्कीका सुलेमान मगर हकदार बने । उनीहरुलाई जनही ५ हजार सहित ट्रफी प्रदान गरिएको एन्फा कास्कीका महासचिव रमेश कार्कीले जानकारी दिए ।

बिजेता तथा उपबिजेता टिमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, गण्डकी प्रदेश सभा सदस्य दीपक कोईराला लगायतले पुरस्कार वितरण गरेका थिए ।

गत ७ गते देखी सञ्चालनमा रहेको सो प्रतियोगितामा स्याङजाबाट होराइजन क्लब, तनहुँबाट भीमाद युथ क्लब, लमजुङबाट त्रिवेणी यूवा क्लब, गोरखाबाट बौद्ध हिमाल क्लब, कास्कीबाट आर्दश क्लब, नवलपुरबाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लब, बाग्लुङ फुटबल संघ र म्याग्दी जिल्ला खेलुकद विकास समितिको टिम गरी कुल ९ जिल्लाको टोली प्रतिस्पर्धामा उत्रिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.