www.tandavnews.com
Fact ~ In search of truth

श्रीपञ्चमी: सरस्वतीको पूजाराधना गरी मनाइँदै

काठमाडौं ।

प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित भएको विश्वास गरिन्छ ।

आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।

यस अवसरमा धार्मिक नगरी जनकपुरका विभिन्न शिक्षण संस्थाका साथै जनकपुरका टोलटोलमा देवी सरस्वतीको कलात्मक मूर्ति स्थापित गरी उल्लासमय वातावरणमा पूजापाठ भइरहेको छ ।

विद्यार्थी बिहानै स्नान गरी आ–आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ गर्ने गर्छन् । सरस्वतीको पूजाको लागि प्रसादमा बयर, केरा, सुन्तला र बेसनले बनाइएका बुनियाका साथै विभिन्न प्रकार फलफूल र मिठाई पनि चढाउने गरिन्छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.