www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य माघ यताकै उच्च,खपत ओरालो

काठमाडौं ।

निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघ यता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार पुगेको छ ।

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । यही सोमबार र मंगलबार प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला ७५ हजार ६०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ८८० रुपैयाँ पुगेको छ ।

Batas

यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५८२ अमेरिकी डलर पुगेको छ ।

खपत ओरालो

पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनाव केही मत्थर भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ । महासंघका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ ।

सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासंघले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.