www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङको ढुम्बा ताल जमेर बरफ

मुस्ताङ ।

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । ढुम्बा ताल ठ्याक्कै मुटुको आकारको भएकाले ‘हट सेप्ट लेक’ भनेर पनि चिनिन्छ ।

तालको व्यवस्थापन कुछुप तेरेङ्गा गुम्बाले परापूर्वकालदेखि गर्दै आएको छ । तालमा विभिन्न जातका माछा छाडिएको छ, तालको सरसफाइ र माछाको हेरविचार गर्न र आहारा खुवाउने सबै गुम्बाले गर्ने गरेको गुम्बाका लामाकाजी थकालीले बताए । यस तालमा कुछुप तेरेङ्गा गुम्बालाई चढाउने पवित्र जल भएका कारण तालमा फोहर गर्न मनाही गरिएको लामा थकालीले बताए ।

मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने प्रायः पर्यटक ढुम्बा ताल घुम्न आउने गरेको वडा नं ५ का अध्यक्ष वीरेन्द्र थकालीले बताए । पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि पाँच किलोमिटर पश्चिममा पर्ने ढुम्बा ताल दुई वर्षयता चर्चामा आउन थालेको थकालीले बताए ।

समुद्र सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १५० मिटर र चौडाइ १०० मिटर छ । तालमा गएर पूर्वको नीलगिरि र पश्चिमको धौलागिरि हिमाल यस स्थानबाट देखिन्छ ।

नीलो रङमा देखिने यो ताल हिजोआज जमेको छ । जमेको तालमा युवा तस्बिर खिचाउन जान थालेका छन् । पछिल्लो समय जमेको ताल हेर्ने आउने पर्यटकको सङ्ख्या बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख तुलसी दाहालले बताए । जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बा ताल पुग्न सजिलै सकिने दाहालले बताए ।

ढुम्बा तालको धार्मिक महत्व र प्राकृतिक सौन्दर्यलाई जोगाउन संरक्षण, प्रर्वद्धन तथा सुन्दरताका लागि गण्डकी प्रदेश सरकारमार्फत यसै आर्थिक वर्षमा २५ लाख बजेट विनियोजन गरिएको गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताए । आगामी दिनमा तालमा बजेट विनियोजन गर्दै जाने सांसद गौचनले जानकारी दिए ।

पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायांकन हुन थालेपछि र सामाजिक सञ्जालमा तालको सुन्दरताको तस्बिर राख्न थालेपछि तालमा घुइँचो लाग्न थालेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.