www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा खरको छाना हटाएर जस्तापाता

स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिकाले खरका छाना हटाउने अभियान शुरु गरेको छ ।

नगर कार्यपालिकाको पाँचौँ नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाइदिने नीति तथा कार्यक्रम पारित गरेसँगै लागत संकलनपश्चात जस्तापाता वितरण थालिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

Batas

‘नगरभित्रका १४ वडाका खरका छाना विस्थापनका लागि लागत संकलन गरी शुक्रबारबाट जस्तापाता वितरण थालेका हौँ’, नगर प्रमुख खाँणले भने, ‘पहिलो चरणमा अति विपन्न घर परिवारलाई प्राथमिकतामा राखेका छौँ ।’

शुक्रबार वालिङ–५ का बेगबहादुर सार्कीलाई तीन बण्डल जस्तापाता निःशुल्क प्रदान गरिएको नगर प्रमुख खाँणले बताए । खरको छानो स्वास्थ्यका दृष्टिले उपयुक्त भए पनि आगलागीको सम्भावना बढी हुने र अर्कोतर्फ खर छाउने दक्ष कामदारको अभाव भएकाले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता राख्ने योजना बनाएको नगर प्रमुख खाँणको भनाइ थियो ।

‘कतिपय घरपरिवार खरको छानो फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ’, नगर प्रमुख खाँणले भने, ‘खरका छानो भएका गरिब हुन् भनी फरक ढङ्गले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि यो अभियान थालेका हौँ ।’

खरका छाना भएका घरधनीले वडाको सिफारिस र खरको छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकबाट लागत अनुमानअनुसार जस्तापाता प्रदान गर्ने प्रक्रिया रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताए ।

नगरपालिकाले खरका छाना विस्थापनका लागि आवेदन माग गरेसँगै हालसम्म ४२८ को निवेदन परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.