www.tandavnews.com
Fact ~ In search of truth

भरतपुर अस्पतालमा कोरोना भाइरसको शंकास्पद बिरामीलाई छुट्टै कक्ष

चितवन ।

छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चितवनको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको छ ।

उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच श्ययाको छुट्टै कक्ष खडा गरी सेवा शुरु गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शंकास्पद बिरामीलाई अलग्गै परीक्षण गरी उपचार गर्नको लागि आइसोलेसन वार्ड खडा गरी काम शुरु गरिएको छ ।

अस्पतालको ए ब्लकमा कक्ष खडा गरिएको छ । अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा प्रमोद पौडेल र कल्याण सापकोटालाई सो कक्षको जिम्मेवारी दिइएको उनले जानकारी दिए । उनीहरु दुवै फिजिसियन हुन्। परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको संक्रमणको आशंका लागेमा नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ ।

बिरामी र सर्वसाधारणको लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक सामग्री बनाई प्रकाशन एवं प्रसारणको प्रक्रिया शुरु गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

नियमितरुपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरेमा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिनेछ ।

यस्तै खोक्दा वा हाँछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान पौडेलले सुझाव दिए । अस्पतालले त्यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि कोरोना भाइरससम्बन्धी विशेष प्रशिक्षण एवं अन्तक्रिया कार्यक्रम गर्ने जनाएको छ ।

केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.