www.tandavnews.com
Fact ~ In search of truth

विषाक्त खानाले मरे तीन गैँडा

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । हिजो(शनिबार) पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो ।

Batas

श्रेष्ठका अनुसार ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ । यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उनले जानकारी दिए ।

श्रेष्ठले भने, ‘ती गैँडाका अङ्गको नमूना सुरक्षित राखेका छौँ, कहाँ विषादीको परीक्षण हुन्छ बुझ्ने काम भइरहेको छ ।’ मरेका तीनै गैँडाको अन्य महत्वपूर्ण अंगमा कुनै समस्या नदेखिएको उनले बताए ।

सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उनले विषाक्त तोरीका कारण मरेको पनि हुन सक्ने अनुमान गरिएको जानकारी दिए । यद्यपि प्रयोगशालाबाट परीक्षण भएपछि मात्र यकिन भन्न सकिने उनको भनाइ छ ।

शनिबार सेहेरीमा भेटिएको गैँडा भाले हो भने अन्य दुई पोथी गैँडा हुन् । यससँगै अन्य कालगतिले मरेका गैँडा बुढो भएर, जुधेर, दलदलमा फसेर र करेन्ट लागेर मरेको उनले बताए ।गत कात्तिकदेखि चालु महीनासम्म प्राकृतिक कारणले धेरै गैँडा मर्ने गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । गत साल प्राकृतिक कारणले ४३ गैँडा मरेका थिए । यस वर्ष सात महिना पुग्न लाग्दा १४ गैँडा मरेका छन् ।

तुलनात्मक हिसाबले कम गैँडा मरेका भए पनि निकुञ्जले प्राकृतिक कारणको मृत्यु दर अझ घटाउन गृहकार्यमा रहेको जनाएको छ । वन तथा वातावरण् मन्त्रालयले प्राकृतिक कारणले गैँडा मर्नाका कारण पत्ता लगाउन समितिसमेत गठन गरेको छ ।

अघिल्ला वर्षमा पनि वार्षिक २५ हाराहारी गैँडा कालगतिले मरेको तथ्यांक छ । हरेक पाँचपाँच वर्षमा गैँडा गणना गरिन्छ । पछिल्लो गणनानुसार सो निकुञ्जमा ६०५ गैँडा थिए । यस वर्ष निकुञ्जमा गैँडा गणना गरिँदैछ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.