www.tandavnews.com
Fact ~ In search of truth

तालबाराहीको सन्ध्याकालीन आरती पर्यटकको आकर्षण

पोखरा ।

प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरामा सूर्योदयदेखि सन्ध्याकालीन आरतीसम्मका गतिविधि पर्यटकको आकर्षण बन्ने गरेका छन् । आन्तरीक तथा वाह्य पर्यटक यहाँ बास बसेपछि भोलिपल्ट सबेरै आँखा मिच्दै सूर्योदयको अवलोकनका लागि सराङकोट पुग्ने गर्दछन् ।

सराङकोटबाट सूर्योदय एवं हिमाली दृश्य अवलोकन गरेका उनीहरु दिउँसो यहाँका मठमन्दिर, तालतलैया, गुफा, झरना, सङ्ग्रहालयलगायत विभिन्न मनोरम दृश्यावलोकनमा व्यस्त देखिन्छन् ।

Batas

दिनभरि सुन्दर नगरीमा रमाउने पर्यटन साँझमा फेवाताल किनारास्थित तालबाराही मन्दिर प्रवेशद्वार बाराहीघाटमा प्रत्येक दिन हुने आरतीमा सहभागी हुने गरेका छन् । पछिल्ला दिनमा तालबाराहीको आरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहका पर्यटक एवं स्थानीय बासिन्दाको लागिे अर्को पर्यटकीय गन्तव्य बन्ने गरेको छ ।

पशुपतिनाथको महा आरतीको झ झल्को दिने गरी संगीतमयरुपमा आरती यहाँ सञ्चालन हुने गर्दछ । तीन जना पण्डितद्वारा सन्ध्याआरतीमा विशेष गरी धुप, घ्यू, ल्वाङदानी, कपुर, पुलपाती, मयूर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछी धागोलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने युवा पण्डित रामप्रसाद सिग्देलले जानकारी दिए ।

शङ्खउद्घोषबाट शुरु र अन्त्य गरिने आरतीमा ५४ वटा वत्ती रहने उनले जानकारी दिए । तालबाराहीबाट शुरु भएको आरती अहिले पोखराको प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर गुफा, सदाशिव हरिहर मन्दिर, नर्वदेश्वर मन्दिर र बेगनासतालमा समेत गरिँदै आइएको छ ।

हालसम्म ४५७ दिन सञ्चालन भइसकेको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिए । उनका अनुसार २०७५ साल असोज २४ गते घटस्थापनाका दिनेदेखि सञ्चालन गरिएको आरती निरन्तर चलिरहेको छ ।

‘जहाँ धर्म त्यही धन’ भन्ने युक्तिलाई आरतीले चरितार्थ गरेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले भने, ‘आरतीको दिगोपनका लािग शुरु गरिएको अक्षयकोषमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।’ अक्षयकोषमा एक करोड पुर्याउने समितिको लक्ष्य रहेको छ ।

दिनभरिको थकान, तनाव, कोलाहलबाट केही समय पनि एकचित्तरुपमा आत्मशान्तिको लागिसमेत आरतीमा धार्मिक पर्यटनको आकर्षण बढ्दै गएको समितिका सहसचिव तुलसी दाहालले बताए ।

उनका अनुसार मुलुकका विभिन्न स्थानबाट पोखरा भ्रमणमा आउने आन्तरिक पर्यटक आरतीको दर्शन र ताप्नको लागिनै पटकपटक आउने गरेका छन् । ‘नित्य पूजाका लागि त जेनतेन आर्थिक संकलन भएको छ’, उनले भने,‘विशेष गरी तालको किनारामा बालबाराही मन्दिर सामुन्ने खुला आकाशमुनि गरिने आरती पानी पर्दाको समयमा भने भक्तजनलाई अप्ठेरो पर्ने गरेको छ ।’

आरती सञ्चालनमा गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट ७० हजार र पोखरा–६ का जनप्रतिनिधिबाट १५ हजार सहयोग प्राप्त भएको जनाइएको छ । तालबाराही मन्दिरलगायत आसपासमा बलेका बत्ती तालको पानीमा देखिने मनोरम दृश्यबाट पर्यटकले छुट्टै आनन्द लिने गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.