www.tandavnews.com
Fact ~ In search of truth

कर्णाली प्रदेशमा छ महिनामा जम्मा तीन प्रतिशत बजेट खर्च

कर्णाली ।

कर्णाली प्रदेश सरकारलाई विकास निर्माण र जनजीविकाका सवालमा प्रदेशसभाले आवश्यक दबाब दिन नसकेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् ।

प्रदेशसभा स्थापनाको दुई वर्ष पुगेको उपलक्ष्यमा आयोजित खुला अन्तरक्रिया कार्यक्रममा वक्ताले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको बताए ।

Batas

प्रदेशसभा स्थापना भएको आज दुई वर्ष पुग्दैछ । यसै अवसरमा प्रदेशसभा सचिवालयले ‘संघीयता र प्रदेशसभा’ विषयमा सोमबार अन्तरक्रियाको आयोजना गरेको हो । कार्यक्रममा प्रदेश सरकारलाई प्रदेशसभाले आवश्यक खबरदारी गर्न नसकेको अधिकांश वक्ताले जोड दिए ।

वीरेन्द्रनगरकी अञ्जु विकले चालू आर्थिक वर्षको छ महिनामा तीन प्रतिशतमात्र बजेट खर्च हुनुमा सरकारमात्र जिम्मेवार नहुने बताए । ‘सरकारले काम गर्न सकेन भने त्यसको दोष संसद् (प्रदेशसभा) लाई पनि जान्छ, प्रदेशसभा बैठकमार्फत सरकारलाई आवश्यक दबाब र उत्तरदायी बनाउन सकिन्छ’, उनले भने, ‘घर नजिकको सरकारले जनताको मन जित्न नसके संघीयता नै असफल हुनसक्छ, त्यसतर्फ सबै सचेत हुन जरुरी छ ।’

अधिवक्ता सीमा धामीले प्रदेशसभा र प्रदेश सरकारले न्यायिक र सुशासनका विषयमा चासो देखाउन सुझाव दिए । प्रदेशसभा र अन्तर्गतका विषयगत समितिहरुले प्रदेश सरकारलाई आवश्यक निर्देशन दिएर सरकारलाई सचेत गराउनुपर्ने बताए ।

व्यवसायी पूर्ण अधिकारीले प्रदेश सरकार र संसद्ले जनताको मन जित्न सके संघीयता सफल हुने बताए । ‘कर्णाली सरकारले महत्वपूर्ण कार्यक्रम ल्याए पनि पारदर्शिताको अभावले ती कार्यक्रम विवादित बन्दै गएका छन्, यस्तो अवस्थामा प्रदेशसभाले सरकारलाई खबरदारी गर्न सक्नुपर्छ’, अधिकारीले भने ।

विद्यार्थी विनिता बोगटीले छाउपडी प्रथा अन्त्यका लागि गोठ भत्काउनुभन्दा जनचेतनालाई जोड दिनुपर्ने विचार व्यक्त गरे । मुस्लिम समुदायकी अगुवा समीना बानुले मदरसालाई अन्य विद्यालयसरह बजेट विनियोजन गर्न अनुरोध गरे ।

कार्यक्रमको अन्तमा सहभागीको जिज्ञासाको जवाफ दिँदै सभामुख राजबहादुर शाहीले प्रदेशसभाप्रति नागरिकको अपेक्षा के छ रु भन्ने अध्ययन गर्ने अवसर मिलेको बताए ।

प्रदेशसभाप्रति नागरिकको अपेक्षालाई आफूले संविधानको सीमाभित्र रही कार्यान्वयन गर्दै लैजाने बताए । उनले संसद्ले प्रदेश सरकारलाई खबरदारी गर्दै आएको पनि स्मरण गराए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.