www.tandavnews.com
Fact ~ In search of truth

काठको अभावमा मादल बनाउने पेशा संकटमा

पाल्पा।

आजभन्दा करीब दुई दशकअघिसम्म हातमा मादल बनाउने सीप भएका व्यक्तिलाई मादल बनाउने चटारोले फुर्सद नै हुँदैनथ्यो ।

मादल बनाएरै केहीले जीविका चलाएका पनि थिए । पछिल्लो समय भने हातमा सीप भए पनि मादल बनाउन सिपालु व्यक्तिका दिन भने फुर्सदिला बनेका छन् । गाउँमा काठको अभाव, बजारमा छरपस्ट तयारी अवस्थामा आएका मादल भित्रिन थालेपछि मादल बनाउने पुरानो पेशा अहिले संकटमा छ ।

Batas

आजभन्दा १५ वर्षअघि पाल्पास्थित रामपुर नगरपालिका–८ बस्ने ५२ वर्षीय रामबहादुर गन्धर्वले मादल बनाएर राम्रै कमाइ गर्थे । त्यस समय उनलाई मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो । गाउँघरमा हातले बनाएका मादल खरिद गर्न आउने ग्राहकको दिनहुँ भीड लाग्दथ्यो ।

मादल बनाएर गन्धर्वले परिवारको जीविका चलाउँदै आएकामा पछिल्ला समयमा भने काठको अभावमा पेशा नै संकटमा पर्न गएको बताउछन् । ‘पहिला त मादल बनाएर दिन बितेको पत्तो हुँदैनथ्यो, अहिले मादलप्रति खासै आकर्षण पनि छैन, व्यापारमा कमी आउँदा पेशा नै धरापमा छ’, गन्धर्वले भने ।

उनले जीवनको तीन दशक समय मादल बनाएरै बिताए तर यो पेशा संरक्षणमा स्थानीय तह, विभिन्न संघसंस्था, व्यक्ति कसैबाट पनि सहयोग नभएको उनी गुनासो गर्छन । ‘गाउँमा कसैले मादल बनाउँदैनन्, पुरानो पेशा जोगाउन भनेर निरन्तर लागि परिरहेको छु तर यसको संरक्षणमा कसैले अहिलेसम्म सहयोग गरेका छैनन्’, उनले दुःखेसो पोखे । अहिले गाउँघरमा पहिलाजसो काठ पनि पाइँदैन । मादल बनाउन काठको समस्या परेपछि गन्धर्वले १५ वर्षयता भने पोखराबाट घार खरिद गरेर भए पनि पेशालाई आजसम्म निरन्तरता दिएका छन् ।

काठको व्यवस्था भएमा पेशालाई जोगाउँदै आफूले सक्दासम्म मादल बनाउने गन्धर्वको भनाइ छ । उनले बाउबाजेबाट सीप सिकेर १८ वर्षको उमेरदेखि व्यावसायिक तवरले मादल बनाउन थालेका हुन् । एउटा मादललाई ‘साइज’ हेरेर दुई हजारदेखि चारसम्ममा बिक्री गर्छन ।

पछिल्लो समय रामपुरमा बस्ती बढ्दै जाँदा विभिन्न ठाउँठाउँमा पसलहरु खुलेका छन् । बाहिरबाट तयारी अवस्थामा आएका मादलले पसल ढाकेका छन् । त्यसले गर्दा पनि धेरैको आकर्षण पसलमा राखिएका तयारी मादलमा बढ्दो छ ।

बाहिरबाट बजारमा आएका मादल सस्तो मूल्यमा पाइने भएपछि पनि ग्राहकको अहिले गाउँघरमा हातले कुँदेर बनाइएका मादलमा ध्यान गएको पाइँदैन । काठ नपाउँदा पुरानो पेशा जोगाउनै समस्या परेकाले आफूले सीप सिके पनि व्यावसायिकरूपमा अँगाल्न नसकेको गन्धर्वका छोरा बेगबहादुर बताउछन् । ‘हातमा सीप छ तर बजार नभएपछि अन्यत्र पेशा व्यवसाय गर्नैपर्यो, कतैबाट काठको व्यवस्थापन भइदिएमा मादल बनाउने पेशालाई नै अगाडि बढाउने धोको छ’, उनले भने ।

अझै पनि केहीले त राम्रो मादल चाहियो भनेर गाउँमै हातले बनाएका मादल खोज्न आउने गरेको उनी बताउछन् । मादल बनाउने पेशा संरक्षणमा कसैको ध्यान नजाँदा पेशा नै धरापमा पर्न थालेको छ । मादल बनाउने पेशा संरक्षण गर्न आवश्यक सामग्री सहयोगका लागि अहिलेसम्म वडा कार्यालयमा माग नआएको नगरपालिका–८ का अध्यक्ष बोमबहादुर नामजाली बताउछन् ।

‘सम्बन्धित पेशामा आबद्ध व्यक्तिले मादल बनाउने पेशालाई जोगाउँदै यसैबाट आयआर्जन गर्न वडा कार्यालयमा आवश्यक सहयोग माग गरेमा वडा कार्यालयले सहयोग गर्नेछ’, वडा अध्यक्ष नामजालीले भने । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.